तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानीको श्रोत संरक्षण र सदुपयोगका लागि आमा समूह लक्षित कार्यक्रम सञ्चालन

नवलपरासी पश्चिम् । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले आमा समूह लक्षित खानेपानी सुरक्षा योजनासम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । उपहार नगर आमा समूह र मिलीजुली आमा समूहमा ४३ जना सदस्यहरूलाई राखेर कार्यक्रम गरिएको छ ।

कार्यक्रम धौलागिरि टोल विकास संस्था, उपहार नगर टोल विकास संस्था, मिलीजुली र उपहार आमा समूहलाई लक्षित गरी गरिएको कार्यक्रम भएको हो । सहभागी आमा समूहका प्रतिनिधिहरूले मुहान संरक्षण, पानीको बचत, फजुल खर्च रोकथाम र कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पूर्व लेखा समिति संयोजक समेत रहेका रबिन्द्रविक्रम हमालले आमालाई लक्षित गरिएको कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । 

संस्थाका अध्यक्ष दीपक लम्सालले आमाहरू गर्ने घरायसी काम धेरै पानीसँग सम्बन्धित भएकाले आमा लक्षित कार्यक्रम गरिएको बताउनुभयो । उहाँले भूमिगत पानी जोगाउन वृक्षारोपण, मुहानको संरक्षण, तालहरूको संरक्षण तथा कृत्रिम ताल निर्माण गरेर पानी जमिनमा सोस्ने प्रणालीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भयो । 

संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजनाका संयोजक कमल थापाले कार्यक्रमलाई वार्षिक योजना अनुसार अघि बढाइएको उल्लेख गर्दै मुहानदेखि मुखसम्म शुद्ध पानी उपलब्ध गराउनु नै संस्थाको प्रमुख उद्देश्य भएको बताउनुभयो । 

संस्थाका व्यवस्थापक विष्णुकुमार भुसालले २०६८ सालदेखि खानेपानी सुरक्षा योजनाको अभिमुखीकरण गर्दै स्थानीय निकाय र सुरक्षाकर्मीहरूसँग सहकार्य गरेर संस्थाले उपभोक्ता लक्षित गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । 

पत्रकार प्रकाश न्यौपानेले संस्थाले सञ्चालन गरिरहेको उपभोक्ता केन्द्रित कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन सके अझ प्रभावकारी हुने उल्लेख गर्नु भयो ।

यस खानेपानीबाट ४ हजार दुई सय उपभोक्ताले सेवा लिँदै आइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button