‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’
काठमाडौँ । नेपाल व्यवस्थापन सङ्घ(म्यान)ले यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ ।
‘राजस्व सङ्कलन तथा परिचालन: सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको अनुपालन तथा कार्यान्वयन सुदृढीकरण गरिनुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख स्रोत व्यक्ति एवं पूर्व अर्थ सचिव रामशरण पुडासैनीले आफ्नो प्रस्तुतीकरण गर्दै नेपालको समग्र वित्तीय संरचना, कर नीति, तथा राजस्व परिचालनका विविध पक्षमाथि चर्चा गर्नुभयो । उहाँले राष्ट्रिय विकासको प्राथमिकता तथा दिगो वृद्धिसँग सुसङ्गत हुने गरी राजस्व परिचालन रणनीतिहरूको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
नीति निर्माता, अर्थशास्त्री, शिक्षाविद्, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूलगायतको उपस्थितमा भएको कार्यक्रममा अन्य वक्ताहरूले पनि कर नीति, त्यसको दायरा र कर अनुशासनबारे आफ्नो धारण राखेका कार्यक्रमका संयोजक एवं म्यानका महासचिव इन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सङ्घले हरेक शुक्रवार गर्ने आफ्नो नियमित कार्यक्रमअन्तर्गत ‘शुक्रवार व्यवस्थापन वार्ता कार्यक्रम’ सञ्चालन गरिरहेको र त्यस क्रममा यस पटकको शृङ्खला आयोजना गरिएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्