तपाईँ सुन्दै हुनुहुन्छः

अनौठो मिथकसँग जोडिएको दोलखाको भैरव–कुमारी जात्रा सम्पन्न

'सन्तान प्राप्ति र रोग नलाग्ने विश्वाससहितको भैरव–कुमारी जात्रा'

दोलखा। एउटा अनौठो मिथकको प्रतिकका रूपमा पाँच दिनसम्म प्रदर्शन गरिने भैरव– कुमारी जात्रा नेपालको ऐतिहासिक नगरी दोलखा सहरमा शनिवार बिहानबाट सकिएको छ ।

मानिस खाने देवीलाई तान्त्रिक विद्याबाट नियन्त्रण गरेपछि दोलखा सहरमा यो जात्रा सुरु भएको स्थानीयले सुनाउने गरेका छन् ।

गाईजात्राको भोलिपल्टबाट सुरु भई पाँच दिनसम्म प्रदर्शन गरिने यो जात्रा भैरव– कुमारीको दर्शन र पूजा गर्दा सन्तान प्राप्ति, रोग व्याधि नलाग्ने र सोचेको काम पुरा हुने जनविश्वास रहँदै आएको पाइन्छ । भैरव– कुमारी जात्रा नेपालको दोलखा सहरमा मात्र प्रदर्शन हुँदै आएको छ । 

जात्राको अवधिमा मनोकाङ्क्षा पुरा होस भन्दै महिलाहरू व्रत समेत बस्ने गरेका छन्  । गुठियार दाजु– भाइहरूले हरेक वर्ष पालैपालो जात्रा व्यवस्थापनको लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराउनु पर्ने प्रचलन समेत रहेको छ ।

जात्राको सुरुवात कैलेदेखि भयो भन्ने यकिन तिथि थाहा नभए पनि दोलखामा किराँत राज्यकालबाटै यो जात्राको सुरुवात भएको जनविश्वास रहेको सामाजिक अभियन्ता भरत नारायण प्रधानको भनाई छ । केही केहीले भने मल्ल कालिन राजा हरसिंह देवको पालोबाट भैरव– कुमारी जात्रा सुरु भएको विश्वास गर्दै आएका छन् । 

किम्बदन्ती अनुसार दोलखा राज्यमा दङ्गल टोलका सिन्दु र विन्दु नाम गरेका दुई तान्त्रिक दाजुभाइ थिए । उनीहरू दैनिक तामाकोसी नदिमा गएर त्यहाँको जल (सुद्ध पानी) भीमेश्वर मन्दिरमा ल्याई चढाउँथे । यो क्रममा तान्त्रिक दाजुभाइले तामाकोसी किनारमा तीन दिदीबहिनी खेलिरहेको देखे । मन्त्री दाजुभाइले उनीहरू भगवती भएको थाहा पाएपछि उनीहरूलाई आफ्नो विद्याबाट बसमा पारेर दोलखा बजारमा ल्याए । 

दोलखा बजारमा ल्याएपछि उनीहरूकै चाहना अनुसार जेठी त्रिपुरा सुन्दरी भगवतीलाई दोलखामै, माइली कालिन्चोक भगवतीलाई गौरीशङ्कर हिमाल देखिने कालिन्चोकमा र कान्छी बालकुमारी भगवतीलाई जेठी दिदीसँग दोलखामै राखियो ।

जेठी र कान्छी दिदी बैनी आएपछि दोलखामा हरेक दिन मानिस हराउन थाले । मानिस हराउने रहस्य खोज्दै जाँदा चुलबुले स्वभावको बालकुमारीले मानिस खाने गरेको थाहा पाएपछि तान्त्रिकले बालकुमारीलाई नियन्त्रणमा लिने उपाय खोजे । यही क्रममा तान्त्रिक भाइ विन्दुले बालकुमारी स्थान (कोविदेउ) मा सिँढी सहितको एउटा ठुलो खाल्टो बनाएर बालकुमारीलाई फकाएर उनीसँग लुकामारी खेल्न थाले । 

लुकामारी खेल्दा विन्दुले तान्त्रिक विद्याबाट आफूलाई पिठोको सिक्री बनाएर बाँधे भने बालकुमारीलाई फलामको सिक्रीले बाँधिदिए । अनि आफू पिठोको सिक्री फुकाएर खाल्डोबाट माथि निक्ली बालकुमारीलाई सोही खाल्डोमा थुनिदिएको किम्बदन्ती प्रचलनमा रहेको पाइन्छ । 

बालकुमारीलाई खाल्डोमा थुनेपछि उनी धेरै रुनलागिन र तान्त्रिकले वर्षमा तीन दिन भैरवलाई अघि लगाएर बजार जान अनुमति दिए । बालकुमारीलाई एक्लै पठाउँदा फेरी मानिस खाने डरले भैरवलाई अघि लगाएर मात्र जान दिइएको विश्वास गरिन्छ । सोही अनुसार भैरव– कुमारी जात्रा सुरु भएको भरत नारायण बताउँछन् । भैरव भीमेश्वरको प्रतीक (महादेव) हुन् भने कुमारी उनै बालकुमारी हुन् । 

यो जात्राको क्रममा भैरव– कुमारी सहित १३ जना सेनामेना समेत हुने गरेका छन् । विगतमा भैरव– कुमारी जात्रा प्रदर्शनमा भीमेश्वरको गहना पहिरिने गरेको भए पनि अहिले सुरक्षाका कारण त्यो क्रम बन्द भएको छ । भैरव– कुमारी जात्रामा दोलखाको शिवभक्त परिवार मात्र सहभागी हुने प्रचलन रहेको छ । भैरव– कुमारी जात्राको लागि छुट्टाइएको गुठीको जग्गामा शिवभक्तिहरु मात्र रहेकोले भैरव, कुमारी र अन्य सेनामेना गरी १३ जनानै शिवभक्त थरका मानिस मात्र नाच्नुपर्ने प्रचलन रहेको स्थानीयको भनाई छ ।

यो जात्रा विगतमा पिङ्गल टोलबाट निकालिने भए पनि अहिले भने तीन वर्ष पिङ्गल टोलबाट र तीन वर्ष टँसिचा टोलबाट निकालिने गरिएको छ । तीन दिन निकालिने यो जात्रा अहिले पाँच दिन निकाल्ने गरिन्छ । किम्बदन्ती अनुसार भैरव– कुमारी जात्रा पहिलो दिन भूतले हेर्ने, दोस्रो दिन देवी देवताले हेर्ने, तेस्रो र चौथो दिन आगन्तुकले हेर्ने र पाँचौँ दिन दोलखाका स्थानीयले हेर्ने गरिन्थ्यो । तर अहिले भने हरेक दिन स्थानीय तथा आगन्तुक सबैले हेर्ने गरेको भरत नारायणको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button