तपाईँ सुन्दै हुनुहुन्छः

जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण: सभामुख घिमिरे

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले विधागत पत्रकारितामा स्वास्थ्य विधा बढी महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको दशौँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य पत्रकारिताले जनतालाई रोगसँग बचाउने र सुसूचित गर्ने बताउनुभयो । 

“तथ्यमा आधारित जनस्वास्थ्यसँग जोडिएका विषयलाई आमजनताले बुझ्ने भाषामा लेख्नु चुनौतीपूर्ण काम हो, तर यो काम स्वास्थ्य पत्रकारहरूले गर्दै आउनुभएको छ”, उहाँले भन्नुभयो, “अबको चुनौती एआईलगायत प्रविधिको दुरुपयोग, भाइरल गराउने नाममा आउने फेक न्युजलाई रोक्नु हो । यसमा विधागत पत्रकारिता गर्ने व्यक्ति र संस्थाहरू बढी जिम्मेवार हुनुपर्छ । मलाई लाग्छ स्वास्थ्य पत्रकार र मञ्च यसमा सचेत हुनुहुन्छ ।” सभामुख घिमिरेले रोगबारेमा भन्दा रोग लाग्नबाट जोगिने विषयलाई बढी प्राथमिकता दिएर समाचार लेख्नुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जनचेतनाको कारणले रोग बढ्ने गरेको भन्दै स्वास्थ्य पत्रकारिताको रोगबारे जनचेतना जगाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य पत्रकारहरूले राज्य तथा स्वास्थ्य क्षेत्रको नेतृत्व गरेकालाई दबाब दिन सक्ने बताउनुभयो । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा विकास भए पनि सर्वसाधारणको पहुँचमा अझै उपचार नपुगेको बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै योगदान गरेको भन्दै स्वास्थ्य पत्रकार मञ्च अझ क्रियाशील भएर स्वास्थ्य क्षेत्र सुधारका लागि दबाब सिर्जना गर्दैअघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले पत्रकारितामार्फत निरन्तर निगरानी र खबरदारीले स्वास्थ्य क्षेत्र सुधारका लागि धेरै काम भएको भन्दै तथ्यमा रहेर काम गर्न शुभकामना दिनुभयो । 

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रमुख डा राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने भन्दै पछिल्लो पटक डब्लुएचओले स्वास्थ्य पत्रकार मञ्च नेपालसँग जनस्वास्थ्यका विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया गर्दै आएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले विधागत पत्रकारिताको विकास क्रमसँगै स्वास्थ्य पत्रकारिता उदाएको उल्लेख गर्दै डिजिटल मिडियामा आएका कुरा सबै समाचार नभएको बताउनुभयो । 

मञ्चका अध्यक्ष भिषा काफ्लेले मञ्चको १० वर्षे इतिहास आरोह अवरोहका बारेमा चर्चा गर्दै आफूहरूले गर्न खोजेका कामका विषयमा चर्चा गर्नुभयो । सोही कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्च नेपालका संस्थापकलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button