कानूनी संवादमार्फत समाधान खोज्न जरुरी : प्रधानमन्त्री ओली

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेश प्रदेश पत्रकार महासङ्घले कानूनी रुपमा गुटीबाट प्राप्त गरेको जग्गा र त्यसपछिका विवादका विषयमा ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाएको छ ।
महासङ्घका प्रदेश अध्यक्ष श्याम बन्जारा नेतृत्वको महासङ्घका टोलीले नेपाल प्रहरीको मधेश प्रदेशको प्रशासनिक भवन आज भएको उद्घाटन समारोहमा नेपाल वार एसाेसिएशनबाट भएको साङ्घातिक हमला सहितको घटनाका विषयमा ज्ञापनपत्र बुझाउनु भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले कानूनी संवाद मार्फत समस्याको समाधान गर्दै कमजोरमाथि आक्रमण गर्नेमाथि ध्यान दिन प्रहरीलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले कानूनी राज्यमा कानूनको उल्लङ्घन गर्ने अधिकार कसैमा नभएको बताउँदै वार्ता तथा संवाद मार्फत टुङ्गो लगाउनका लागि सम्बन्धित पक्षसँग आग्रह गर्नु भयो ।
कानून व्यवसायीको आक्रमणबाट नेपाल पत्रकार महासङ्घका प्रदेश महासचिव शैलेन्द्र महतो क्रान्तिको दाहिने खुट्टाको पैताला भाँचिएको विषय तर्फ इङ्गित गर्दै प्रधानमन्त्रीले यस्ता प्रकारको क्रियाकलाप ठिक नभएको बताउँदै कानून भन्दा ठूलो कोही नभएको बताउनु भयो ।
दुई दिन अगाडी जनकपुरधामको वडा नंं ४ मा नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले गुठी संस्थान मार्फत सबै प्रक्रिया पुरा गरेर २० वर्षका लागि वार्षिक रुपमा ३ लाख १ हजार १ सय रकम बुझाउने गरि प्राप्त गरेको ४ कठ्ठा जग्गा संरक्षण गरिरहेको समयमा कानून व्यवसायीहरूको समूहले आक्रमण गर्दा प्रदेश अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर राय तथा अनिल निराला घाइते भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्