तपाईँ सुन्दै हुनुहुन्छः

पुँजीगत बजेट खर्च गर्ने क्षमतामा सुधार गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यशैली परिवर्तन गरी पुँजीगत बजेट खर्च गर्ने क्षमतामा सुधार गर्न मातहतका निकायहरूलाई निर्देशन दिनुभएको छ । 

सञ्चार मन्त्रालयले आज सिंहदरबारमा गरेको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री गुरुङले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट लक्ष्य हासिल हुन नसक्ने भएकाले समयानुकूल परिवर्तन गर्न जरुरी रहेको बताउनुभयो । 

मन्त्री गुरुङले मुलुकमा गणतन्त्र आउँदा समेत सरकारी संरचना, कार्यशैली र कतिपय नीतिगत प्रावधानहरू पञ्चायतकालको जस्तै हुँदा परिणाम दिन नसकेको बताउनुभयो । 

मन्त्री गुरुङले विभिन्न सरकारी निकायहरू बीच नै समन्वय हुन नसक्नु, नीतिगत निर्णयमा स्वार्थ समूहहरू हाबी हुनु, कानुन निर्माणको प्रक्रिया लामो हुनु जस्ता समस्याका कारण सरकारको पुँजीगत खर्च कम हुने गरेको उल्लेख गर्नुहुँदै त्यसमा सुधार गर्न सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै सरकारी निकायहरूले अन्तरसंस्था समन्वय र जनशक्ति व्यवस्थापनमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । 

मन्त्रालयका सचिव राधिका अर्यालले विगतका अनुभावबाट पाठ सिकेर समयबद्ध कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button