धनुषा प्रहरीद्वारा गोली हानेर लागूपदार्थका कारोबारी नियन्त्रणमा
जनकपुरधाम । धनुषामा प्रहरीले गोली हानेर लागू पदार्थका कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
आज प्रहरीले गोली चलाउँदा एकजना कारोबारीको खुट्टामा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिनु भएको हो । उहाँले प्रहरीले एक महिलालाई समेत लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको जानकारी दिनु भयो ।
प्रहरीले लागु औषध कारोबारीलाई नियन्त्रणमा लिन खोज्दा भाग्न थालेपछि आज साँझ करिब साढे ४ बजे गोली चलाउँदा मिथिला नगरपालिका वडा नंं २ नक्टाझिझ स्थित ढल्केवर बस्ने ४८ वर्षीय पप्पु साह घाइते भएको प्रहरीले जनाएको छ । उनको दाहिने खुट्टामा गोली लागेको र अवस्था स्थिर रहेको धनुषाका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनु भयो ।
यस अघि पटक पटक पक्राउ पर्दै आएको साह केही दिन अगाडी मात्र लागूपदार्थको कारोबारमा ३ वर्षको जेल सजाय पाएर रिहा भएका थिए । कारागार सजाय पाएर पनि कारोबार नछाडेको सूचनाको आधारमा प्रहरीले पछ्याएर पक्राउ गर्न खोजेका थिए । उनको साथबाट १ सय ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
लागु कारोबारी रमदैया स्थित अस्पतालमा उपचार भइरहेको छ । यस्तै हंसपुर नगरपालिका वडा नंं ५ बस्ने ३० वर्षीया सेलोदेवी रामलाई पक्राउ गरिएको हो । यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
प्रतिक्रिया राख्नुहोस्