तपाईँ सुन्दै हुनुहुन्छः

सूचना प्रविधिको विकास र यसको अधिकतम प्रयोग आवश्यक ः मन्त्री गुरुङ

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासन कायम गर्नका लागि सूचना प्रविधिको विकास र यसको अधिकतम प्रयोग आवश्यक रहेको बताउनुभएको छ ।

सञ्चार मन्त्री गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै आर्थिक विकास, सूचना प्रविधि उद्योगको विस्तार र नियमन गर्न विधेयक ल्याइएको बताउनुभयो । यस्तै विधेयकमाथिको सामान्य छलफलमा सांसदहरूले आइटी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रूपमा विकास गर्न विधेयक आवश्यक रहेको धारणा राख्नुभयो ।

सांसदहरूले राष्ट्रिय सुरक्षा, विद्युतीय कारोबार, नागरिक गोपनीयता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्ने गरी विधेयकलाई व्यवस्थित र परिष्कृत बनाउनुपर्ने सुझाव राख्नुभयो ।

प्रतिनिधि सभाको आजको बैठकमा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तुत प्रस्ताव सभाको गणपूरक सङ्ख्या नपुग्दा निर्णयार्थ पेश हुन सकेन ।

प्रतिनिधि सभाको आजको बैठकमा बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले देशले कार्बन व्यापारमार्फत उल्लेख्य रूपमा आर्थिक लाभ हासिल गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुहुँदै मन्त्री शाहीले नेपालको अन्तर्राष्ट्रिय बजारमा भएको सकारात्मक कार्बन व्यापारले दिगो वन व्यवस्थापन, जलवायु परिवर्तन न्यूनीकरण र आर्थिक लाभमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो ।

मन्त्री शाहीले सन् २०१८ देखी २०२४ सम्म तराइ क्षेत्रमा कार्यान्वयन गरिएको रेड प्लस कार्यक्रममार्फत १८ मिलियन टन कार्बन उत्सर्जन कटौती गरिदा प्रथम चरणमा विश्व बैङ्कबाट १० मिलियन अमेरिकी डलर प्राप्त गर्ने सुनिश्चित भएको जानकारी गराउनुभयो ।

मन्त्री शाहीले कार्बन उत्सर्जन कटौती मार्फत प्राप्त हुने रकम बन व्यवस्थापन गर्ने समुदाय तथा सम्बन्धित निकायले ८० प्रतिशत लाभ पाउने गरी लाभको वितरण योजना स्वीकृत भइसकेको पनि जानकारी दिनुभयो । यस्तै मन्त्री शाहीले चाडै देशलाइ काठमा आत्म निर्भर बनाइने बताउनुभयो ।

मन्त्री शाहीले ढलेका सुकेका रुखहरूको उपयोगका सम्बन्धमा अध्ययन भइरहेकोले अध्ययन प्रतिवेदनबाट आउने सुझावको आधारमा रुखहरूको पर्याप्त उपयोग र रोजगारीको व्यवस्था गर्ने लगायतका योजनाका साथ काम पनि भइरहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेका ५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउन तीनै तहका सरकार आपसी समझदारीका साथ अघि बढिरहेका बताउनुभयो ।

सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री पौडेलले देशभर निर्माण सम्पन्न भई स्थानीय तहलाई हस्तान्तरण भएका अन्य अस्पतालहरू पनि सञ्चालनमा ल्याउने गरी कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । 

स्वास्थ्य मन्त्री पौडेलले मन्त्रालयबाट प्रतिबद्धता गरिएका दायित्वहरू प्रक्रियागत ढङ्गबाट समयमा सम्पन्न गरिएको र कतिपय अस्पताल भने प्रक्रियागत विषय टुङ्गो लाग्न बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकिएको बताउनुभयो ।     

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सार्वजनिक निजी साझेदारीका साथ ऊर्जा क्षेत्रको तीव्र विकासलाई अघि बढाइने बताउनुभयो । 

मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री खड्काले ऊर्जाको निर्यात र खपतसँगै गरिबीका रेखामुनि रहेका जनताहरूलाई वैकल्पिक ऊर्जाका क्षेत्रसँग जोड्दै आर्थिक समृद्धि हासिल गने लक्ष्य लिइएको पनि बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहीबार दिउसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button