तपाईँ सुन्दै हुनुहुन्छः

‘सुशील कोइरालाको सुशासन प्रतिको दृढता र सादगी जीवन पार्टीका लागि अनुकरणीय’

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको ८६ औँ जन्म जयन्तीको अवसरमा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज जनकपुरधाममा “मधेशमा नेपाली काँग्रेस” विषय अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी हुनु भएका वक्ताहरूले स्वर्गीय कोइराला निक्कै सादगी जीवन, उच्च विचार तथा देश र जनताको पक्षमा अडिग रहेकाले नै संविधान सभाबाट संविधान जारी गर्न सफल हुनुभएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीले पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइराला सुशासन र विधिको शासनमा दृढ नेता रहनुका साथै मुलुकमा गणतान्त्रिक संविधान दिने नेता भएको बताउनुभयो ।

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका अध्यक्ष एवं केन्द्रीय सदस्य मधु आचार्यले स्वर्गीय सुशील कोइरालाको दृढता तथा सदाचार जीवनशैली पार्टी नेतृत्वका लागि सधैँ प्रेरणादायी रहेको बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले नेपाली काँग्रेस तथा देश र जनताको हित चाहने स्वर्गीय सुशील कोइरालाको दृढता तथा विचार पार्टीका लागि मार्ग दर्शन भएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य मुक्ता कुमारी यादव, सप्तरीको सुरङ्ग नगरपालिकाका नगर प्रमुख गीता चौधरी सहितका वक्ताहरूले स्वर्गीय सुशील कोइरालाको व्यक्तित्व माथि प्रकाश पार्नुभएको थियो । सो कार्यक्रममा सप्तरीदेखि पर्सा सम्मका विभिन्न तहका अगुवा नेताहरूको सहभागिता थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button