जलवायु प्रदूषण न्यूनीकरणमा साझा प्रयास आवश्यक
नवलपरासी,पश्चिम् । जलवायु परिवर्तन प्रत्यक्ष वा परोक्षरूपमा मानवीय क्रियाकलापहरूसँग जोडिएको छ । यसले, विश्व पर्यावरणको बनोटलाई समेत परिवर्तन गरिरहेको छ । पछिल्लो समय यसको प्रभाव नेपालमा पनि व्याप्त देखिएकाले एक कार्यक्रममा सरोकारवालाहरुले यसप्रती चिन्ता ब्यक्त गरेका छन् ।
सुस्ता गाउँपालिकाको सहयोग,रेडक्रस सोसाइटी जिल्ला शाखा र परासी प्रेस क्लबको समन्वयमा सुस्ता- १ मा आयोजित ‘वायु प्रदूषणको संकट र हाम्रो साझा दायित्व’ विषयक संवाद कार्यक्रममा सरोकारवालाहरुले चासो व्यक्त गरेका हुन ।
मूलतः घरको भान्सा देखि नै वायु प्रदूषणको सुरुवात हुने औँल्याउँदै नागरिकमा देखिने विभिन्न रोगको एउटा कारण नै वायु प्रदूषण रहेको समेत ठम्याईएको छ ।
झन्डै ९९ प्रतिशत मानिसहरू दूषित हावामा बस्ने र नेपालमा झन्डै ४२ हजार मानिसहरूको मृत्युको कारण वायु प्रदूषणसँग जोडिएको तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको छ । २. ५ भन्दा बढी पिएस भएको हावालाई दूषित मान्ने गरिन्छ ।
अहिले जलवायु परिवर्तन कुनै खास क्षेत्र वा स्थान विशेषको मात्र समस्या नभएर २१ औँ शताब्दीको साझा वैश्विक समस्या र चुनौती भएको छ ।
कार्यक्रममा बोल्दै सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले जलवायु प्रदूषण न्यूनीकरणका लागि पालिका स्तरबाट पनि जनचेतनामूलक कार्यक्रमहरू गर्नु पर्नेमा जोड दिनुभयो । शहरसँगै ग्रामीण क्षेत्रमा पनि विभिन्न कारणले प्रदूषण बढ्ने भएकाले त्यसतर्फ सबै सजग र सचेत हुनु पर्नेमा जोड दिनुभयो । तराई क्षेत्रमा गहुँ,धान जस्ता बाली थन्क्याइसकेपछि खेतमा आगो लगाउने प्रचलन रहेकाले समेत यसले वायु प्रदूषण हुने गरेको छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको कार्यक्रममा औँल्याईएको छ ।
नागरिकलाई यस विषयमा सचेत गराइएको उपाध्यायले बताउनुभयो । उहाँले प्रदूषण न्यूनीकरण र सरसफाइका लागि प्रत्येक वडामा डम्पिङ साइड निर्माणको प्रयासमा गाउँपालिका रहेको बताउनुभयो । कतिपय कानुन अभाव र भएका केही कानुन पनि बाझिएकाले थप कठिनाइ हुने गरेको उहाँको भनाई छ ।
ग्रामीण क्षेत्रमा रहेका चिनी उद्योग,सिमेन्ट उद्योग,इँटा उद्योग विभिन्न फ्याक्ट्रीहरू लगायतले वायु प्रदूषण गरिरहेका छन् ।कार्यक्रममा सहभागी सरोकारवालाहरुले प्रदूषण नियन्त्रणका लागि स्थानीय तह नै जागरूक हुनुपर्ने बताएका छन् ।यसले जनस्वास्थ्यमा गम्भीर असर परे पनि दीर्घकालीन रुपमा समाधान आवश्यक रहेको छ ।
उद्योग कलकारखाना स्थापनामा उचित रुपमा वातावरणीय प्रभाव मूल्याङ्कन गरिनु पर्ने र सबै सरोकारवालाहरूलाई जागरूक बनाइनु पर्नेमा जोड दिइएको छ ।कार्यक्रममा सहजीकरण गर्दै रेडक्रस सोसाइटी मार्फत जलवायु परिवर्तन सम्बन्धि परियोजनाका संयोजक अनुप खड्काले सहभागीहरूलाई प्रदूषण न्यूनीकरणका विषय र यसबाट जनस्वास्थ्यमाथि पर्ने असरका बारेमा जानकारी गराउनु भएको छ ।
जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनस्वरूप बढ्दो तापमान, अनावृष्टि, अतिवृष्टि, बाढी पहिरो, नदी कटान, कृषि बालीको भौतिक क्षति आदिका कारण कृषि उत्पादनका क्षेत्रमा समेत निकै नकारात्मक प्रभाव परिरहेको देखिन्छ ।
कार्यक्रममा नेपालमा जलवायु परिवर्तनले पारेका असर, जलवायु परिवर्तनसँग जुध्ने तरिका र न्यूनीकरणका उपायहरूका बारेमा अभिमुखीकरण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्