तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी दुर्घटना अपडेटः मृतकको सङ्ख्या चार पुग्यो

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित फूल चौकमा सोमबार बिहान माइक्रो बस र यात्रुवाहक बस ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मृत्यु हुनेमा सप्तरी मधावे गाउँपालिका–६ का अन्दाजी ३५ वर्षीय शङ्कर मण्डल, सुनसरी कोशी गाउँपालिका–६ का अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगरका अशोक यादव र अन्दाजी ४५ वर्षीया महिला (पहिचान खुलि नसकेको ) रहेका छन्।

बिहान करिब ८ बजे विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो। मृतक सबै माइक्रो बसमा सवार थिए।

घाइतेमध्ये मोरङ, खोटाङ, सप्तरी, उदयपुर, झापा, इलाम लगायतका जिल्लाका २२ जना रहेका छन्। उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहा, जिल्ला अस्पताल इनरुवा, गोल्डेन अस्पताल विराटनगर र विराट नर्सिङ होममा उपचार भइरहेको छ।

दुर्घटनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका–०२ बस्ने निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, सप्तरी मन्धेव गाउँपालिका–६ बस्ने रवीन्द्र प्रसाद मण्डल, उदयपुरको चौदण्डिगढी नगरपालिका–५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिबसतासी नगरपालिका–५ बस्ने ३८ वर्षीय खगेन्द्र थापा घाइते भएका छन् ।

यसै गरी झापाको भद्रपुर नगरपालिका–९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका–१ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली–३ बस्ने ३६ वर्षीय सविन राई, सप्तरी धिकुति गाउँपालिका–६ बस्ने रवीन्द्र मेहता, सप्तरीकै गोइठी गाउँपालिका–३ बस्ने ६८ वर्षीय जिवछ महात्मा, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी घाइते भएका छन् ।

यस्तै, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, सप्तरीको राजविराज नगरपालिका–६ बस्ने १० वर्षीय रुद्र राय, विराटनगर महानगरपालिका–१० बस्ने ४८ वर्षीया शोभा यादव, सप्तरीकै राजविराज–१२ बस्ने ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी गाउँपालिका–५ बस्ने २२ वर्षीय रवि राय, राजविराज–२ बस्ने २४ वर्षीय भोला यादव घाइते भएका छन् ।

यसै गरी राजविराजकै तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सुनसरीको कोशी गाउँपालिका–६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास, सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ बस्ने ३० वर्षीया अमृता राय र सप्तरीको राजविराज–४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button