काँग्रेस–एमालेबिच प्रदेश सरकारलाई थप प्रभावकारी बनाउने सहमति
सुर्खेत । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली काँग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक आज सम्पन्न भएको छ । बैठकमा सरकार सञ्चालन, बजेट कार्यान्वयन र प्रदेश सरकार अन्तर्गत खालि रहेका विभिन्न नियुक्तिका सन्दर्भमा छलफल भएको हो ।

दुई दल सम्मिलित प्रदेशस्तरीय संयन्त्रको बैठकले सरकार सञ्चालनमा गठबन्धनको मर्मअनुरूप अघि बढ्ने निष्कर्ष निकालेको हो । बैठकमा सहभागी नेकपा एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाहले दुई दलबिच बनेको सरकारलाई आगामी दिनमा थप प्रभावकारी बनाएर लैजाने सहमति भएको बताउनुभयो ।
काँग्रेस–एमालेबिच सत्ता साझेदारीमा खटपट भएको भनी गरिएको प्रचारमा सत्यता नरहेको समेत अध्यक्ष शाहले बताउनुभयो । प्रदेशका विभिन्न निकायमा खालि रहेका पदाधिकारी तत्काल नियुक्त गर्ने, सरकारलाई अझ प्रभावकारी बनाउन साझा धारणा तय गर्ने तथा सरकार सञ्चालनको एक वर्षलाई समीक्षा गर्ने दुई दल बिच सहमति भएको उहाँको भनाइ छ ।
बैठकमा नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही, नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी र एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्