तपाईँ सुन्दै हुनुहुन्छः

‘संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्छ’

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले संविधानले आदिवासी जनजातिलाई दिएको अधिकार संरक्षण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 

३१औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाली कांग्रेस निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले संविधानले आदिवासी जनजातिलाई धेरै अधिकार दिएकाले यसको संरक्षण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकास मन्त्री सिंहले आदिवासी जनजाति समुदायको हक अधिकारका बारे कांग्रेसको घोषणापत्रमा भएको कुरा सरकारमा हुँदा काँग्रेसले कार्यान्वयनमा लगेको समेत बताउनुभयो । 

उहाँले मुलुकको नीति निर्माण गर्ने थलोमा आदिवासी जनजातिको उल्लेखनीय उपस्थिति रहेको भन्दै यसलाई सही ठाउँमा प्रयोग गर्नुपर्ने बताउनुभयो । प्राप्त अधिकारको महत्व बुझेर संस्कार, संस्कृति र परम्परालाई नबिर्सिकन समयले मागअनुसार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकले आदिवासी जनजातिको हक अधिकारको सुनिश्चित र समग्र विकासका लागि आदिवासी दिवसले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले वर्तमान संविधानले देशमा रहेका सबै जातजाति, भाषा, धर्म, लिङ्गलाई समेटेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य दिलमान पाख्रिनले नेपालमा भएका क्रान्ति र लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । 

कांग्रेस केन्द्रीय सदस्य तारामान गुरुङले नेपाली कांग्रेस र एमालेबीच भएको गठबन्धन सरकारले जनतालाई अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । 

कांग्रेसका केन्द्रीय सदस्य आङगेलु शेर्पाले नेपालमा प्रजातन्त्र स्थापना गर्न आदिवासी जनजाति समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । संविधान रक्षाका लागि आदिवासी जनजातिहरू जुट्नुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

महासङ्घका अध्यक्ष ओमबहादुर घर्तीमगरले संविधान संशोधनमार्फत आदिवासी जनजातिको हकलाई अझै फराकिलो बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति महासङ्घले काँग्रेसमा पाँच लाख सदस्य थप्न आवश्यक रहेको उल्लेख गर्नुभयो । काँग्रेसले आदिवासी जनजातिसम्बन्धी दिएको अधिकारको रक्षा गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button