राष्ट्रियसभा बैठक: चुरे संरक्षणदेखि रोजगारीसम्मका मुद्दामा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले चुरे दोहन नियन्त्रण, भ्रष्टाचार न्युनिकरण, स्वदेशमा रोजगारीको सिर्जनालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसद युवराज शर्माले तराई मधेश शुख्खाग्रस्त बनिरहेको समस्या समाधानका लागि ढुङ्गा गिट्टी बालुवा झिक्ने कार्य रोकेर चुरे दोहन नियन्त्रण गरी बृहत् चुरे संरक्षणको योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
सांसद शर्माले वर्षाको समयमा पानी नपर्दा रोपाई समयमा हुन नसकेको र राष्ट्रिय गौरवका सिँचाइ आयोजना समयमा निर्माण हुन नसक्दा समस्या बढ्दै गइरहेको बताउनुभयो ।
सांसद मायाप्रसाद शर्माले सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी र समर्थन गरेको जनता समाजवादी पार्टीले सरकारको समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिई संविधान र कानुन विपरीत अभिव्यक्ति दिइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सरकारका मन्त्रीहरूले भ्रष्टाचार आरोपका विषयमा सत्य नजिक पुग्दा पनि सरकारले बचाउने काम गरिरहेको भन्दै आरोपी सबै मन्त्रीहरूमाथि छानविन गर्न र सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानविन गर्न उच्चस्तरीय समिति गठनको माग गर्नुभयो ।
सांसद शर्माले निर्वाचन आयोगद्वारा मस्यौदा गरिएको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधान र राजनीतिक दलसम्बन्धी ऐनको मर्मविपरित रहेको आरोप लगाउँदै खारेज गर्न माग गर्नुभयो ।
सांसद मोहेम्मद खालिदले नेपाली युवाहरू विदेशिने क्रम र सङ्ख्या बढ्दै गएको भन्दै सरकारले स्वदेशमा नै रोजगारी सिर्जना गरी युवाहरूमा आशा जगाउने गरी काम गर्न नसकेको बताउनुभयो ।
सांसद जयन्तीदेवी राईले पितृसत्तात्मक सोचबाट बहुविवाह सम्बन्धी कानुन आउन लागेको भन्दै मस्यौदा विधेयक तुरुन्त खारेज गरी संसदमा दर्ता नगर्न सरकारको ध्यानाकर्षण गराउँदै मन्त्रीको जवाफ माग गर्नुभयो ।
बैठकमा सांसदहरुले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघि आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले जलवायु परिवर्तनका कारण झेल्नु परिरहेका समस्याका विषयमा जनचेतना जगाउने र सचेतना अपनाउने गरी काम गर्न जरुरी रहेको औँल्याउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्