तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव समितिबाट पारित

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले तीन प्रकारले शिक्षकहरूको बढुवा गर्ने प्रस्ताव पारित गरेको छ ।
शिक्षा समितिको आज बसेको बैठकले शिक्षकहरूको आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनबाट बढुवा हुने प्रस्ताव पारित गरेको हो ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आधारभूत तहका तृतीय श्रेणीका शिक्षक शत प्रतिशत खुला प्रतियोगिताबाट बढुवा गर्ने, द्धितिय श्रेणीका शिक्षक आन्तरिक प्रतियोगिताबाट २० प्रतिशत, आवधिक वा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट ४० प्रतिशत र कार्यक्षमताको मूल्याङ्कनबाट ४० प्रतिशत बढुवा हुने प्रस्ताव गरेको छ ।
यस्तै समितिबाट शिक्षकको कार्यसम्पादन मूल्याङ्कन औसतमा ९० प्रतिशतबाट ८० प्रतिशतमा झार्ने प्रस्ताव पनि पारित भएको छ ।
बैठकमा शिक्षकको कार्यसम्पादन मूल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औसतमा नब्बे प्रतिशत भनी विद्यालय शिक्षा विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदनमा भएको व्यवस्थालाई परिमार्जन गरी ८० प्रतिशत गर्ने प्रस्ताव पारित भएको हो ।
यस्तै, नेपाल शिक्षक महासङ्घको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्ताव पनि समितिबाट पारित भएको छ ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले कानुन बनाउँदा मुलुकको यर्थाथतालाई ध्यानमा राख्नुपर्ने बताउनुभएको छ ।
मन्त्री पन्तले विपन्न, अनाथ बालबालिकाहरूलाई निःशुल्क र आधारभूत शिक्षाको सुनिश्चितता गर्ने उल्लेख गर्नुहुँदै निजी र सरकारी दुवै शिक्षालयको हित हुने गरी ल्याइएको प्रस्तावहरूलाई स्वीकार गरी विधेयकलाई यथाशक्य अघि बढाउन आग्रह गर्नुभयो ।
समितिको बैठकमा अहिले विद्यालय शिक्षा विधेयक २०८२ सम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफलको क्रम जारी छ ।
प्रतिक्रिया राख्नुहोस्