तपाईँ सुन्दै हुनुहुन्छः

वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध, १३ राजमार्ग एकतर्फी सञ्चालनमा

काठमाडौँ । मुलुकभर परेको वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् ।

अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाको गोसाईंकुण्ड गाउँपालिकास्थित पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरोध भएको छ ।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालिगण्डकी करिडोर, गुल्मीको रुरु गाउँपालिकास्थित रिडी तम्घास सडक र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, तेह्रथुमको  मध्यपहाडी राजमार्ग, महोत्तरीको पूर्वपश्चिम लोकमार्ग, रसुवाको गल्छी त्रिशूली सडक, बागलुङको कालिगण्डकी करिडोर र मध्यपहाडी राजमार्ग, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, मुस्ताङको बेनी जोमसोम सडक, तनहुँको पृथ्वीराजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

यसैगरी, अर्घाखाँचीको सन्धिखर्क गोरुसिङ्गे सडक, दाङको राप्ती राजमार्ग, रोल्पाको सहिद राजमार्ग  र दैलेखको दैलेख सुर्खेत सडकखण्ड पनि एकतर्फी रूपमा सञ्चालन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button