रातभरि रुखमा बाँधेर राख्दा एक व्यक्तिको मृत्यु, चारजना पक्राउ
भद्रपुर, झापा । झापाको झापा गाउँपालिकामा मादक पदार्थ सेवन गरेका व्यक्तिलाई रातभरि रुखमा बाँधेर राखेपछि मृत्यु भएको छ ।
गएराति १०.३० बजे झापा गाउँपालिका वडा न.१ लसुना बस्ने ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरी छिमेकी महादेव टुडूको घरमा आएका थिए । घरको गल्लीमा आई काम्न थालेपछि महादेव टुडूलगायत स्थानीय व्यक्तिहरूले घर छेउमा रहेको आँपको रुखमा प्लाष्टिकको डोरीले बाँधेर राखेका थिए । आज बिहान ४ बजे हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।
घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले घटनामा संलग्न झापा गाउँपालिका वडा न.१ लसुना बस्ने मृतकका छोरा २७ वर्षीय अनतलाल सोरेन, सोही ठाउँ बस्ने ५० वर्षीय महादेव टुडू, २० वर्षीय लुखिराम टुडू र २१ वर्षीय लखिराम टुडूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।
अन्य फरार व्यक्तिको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको सूचना अधिकारी डिएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्