तपाईँ सुन्दै हुनुहुन्छः

बीउ अपुगले धान रोपाइँ प्रभावित

महोत्तरी । लामो खडेरीले यस वर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ । सिङ्गो मधेस नै खडेरीको चपेटामा परेका बेला अन्यत्रजस्तै महोत्तरी जिल्लाको रोपाइँ पनि प्रभावित भएको हो । 

स्थानीय किसानका अनुसार लामो खडेरीपछि साउन तेस्रो सातादेखि  मनसुनी वर्षा अनुकूल हुँदै गइरहेको अवस्थामा  धमाधम रोपाइँ भइरहेकामा पछिल्लो समय बीउको अभाव  देखिएको छ ।  

साउन तेस्रो साताको अन्त्यमा महोत्तरीको रोपाइँ करिब ४९ प्रतिशत मात्र पुगेको प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । सुरुमा पानीको अभाव खेपेका किसान अब बीउको अभावले रोपाइँ प्रभावित भएको बताउँछन् । 

“सबै खेतमा हिल्याउने गरी पानी अझै पुगेको छैन, हामी कतिपय ठाउँमा सडक, कुलो सोहोरेर खेत हिल्याउँदै छौँ”, भङ्गाहा –४ रामनगरका किसान काशी विन मुखिया भन्नुहुन्छ, “अहिलेलाई दुःखसुख पानी जम्मा गरे पनि बीउले धोका दिएको छ ।” 

यसपालि खडेरीले ब्याडमै बीउ सुकाएर हुर्कन नसक्दा अहिले बीउको अभाव भएको मुखियाको भनाइ छ । आफूले हिल्याइसकेको खेतमा बीउ नपुगेर रोपाइँ थाँती रहेको मुखियाले बताउनुभयो । मुखिया अहिले बस्ती बस्ती चाहर्दै बीउ खोज्दै हुनुहुन्छ ।

मुखियाजस्तै  सोही बस्तीका अर्का किसान इद्रिस कवारी पनि अब बीउको अभावले रोपाइँ नबढ्ने छाँट देखिएको बताउनुहुन्छ । “खडेरीले पहिले दुख जिलो रोपिएको धान पनि राम्ररी गाँजिन सकेन, त्यसैले खरुअन (पहिलो बीउ रोपो गाँजिएपछि त्यो उखालेर रोपिने कार्य) पनि हुर्केन”, कवारी भन्नुहुन्छ, “अब पानी त जेनतेन भयो, बीउले सकस पार्दै छ ।” 

महोत्तरीको कूल ७१ हजार हेक्टर जग्गामध्ये करिब ४५ हजार हेक्टरमा  धान खेती हुँदै आएको छ । “पुरानो अभिलेख हेर्दा अनुकूल वर्षा भएको समयमा ४५ हजार हेक्टरभन्दा बढीमा धान खेती भएको देखिन्छ”, वरिष्ठ कृषि विकास अधिकृत देवानन्द यादव भन्नुहुन्छ, “हामीले यसलाई ४५ हजार हेक्टर मान्ने गरेका छौँ ।” 

यस वर्ष अहिलेसम्म ४९ प्रतिशत जमिनमा मात्र रोपाइँ भएको छ । यो २२ हजार हेक्टरभन्दा माथिको क्षेत्रफल हो । साउन तेस्रो साता सुरु हुनअघि जिल्लामा ३० प्रतिशत मात्र रोपाइँ भएको थियो । यसैबिच वर्षा भएसँगै रोपाइँले गति लिई अहिले ४९ प्रतिशत पुगेको हो ।

“सबै ठाउँमा पानी अझै पुगेको छैन, किसान सडक, कुलो सोहोरेर, स्यालो ट्युबवेल र इनार पम्प सेटबाट पानी जोहो गरेर रोपाइँ गर्दै छन्”, यादव भन्नुहुन्छ, “अब मुख्य समस्या बीउको छ, ब्याडमै सुकेको बीउ पछिल्लो वर्षाले बिउँतिने क्रम त छ, तर समय लाग्छ ।” 

पानी परिरहेको हुँदा अन्य बालीभन्दा धान नै लगाउन ठिक हुने विज्ञ बताउँछन् । यस वर्ष जिल्लाको सुदूर दक्षिणी र मध्य भेगभन्दा उत्तरी क्षेत्रमा वर्षा बढी भएकाले धान रोपाइँ गति उत्तरी क्षेत्रमा बढी भएको देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button