तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको राजगढमा तस्कर र प्रहरीबीच भिडन्त, गोली लागेर एकको मृत्यु

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा तस्कर र प्रहरीबीच मङ्गलवार राति गोली हानाहान भएको छ‌ ।

मदिरा तस्करी नियन्त्रण गर्न पुगेका नेपाल प्रहरीमाथि तस्कर समूहले ढुङ्गा मुढा तथा गोली नै प्रहार गरेपछि प्रहरीले समेत गोली फायर गरेको थियो । तस्कर र प्रहरीबिच भएको भिडन्तमा गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको छ । प्रहरीले तस्करहरूलाई पक्राउ गर्ने क्रममा भारतीय तस्करले प्रहरीमाथि गोली चलाउँदा नेपाल प्रहरीको जवाफी फायरिङको क्रममा यादवको गोली लागेर घटनास्थलमै मृत्यु भएको  हो ।

यता तस्करको गोली लागि दुई प्रहरी समेत घाइते भएका छन् । नेपाल भारत सीमा नजिकबाट भारी मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचना बमोजिम सर्च अप्रेसन चलाउँदा तस्कर र प्रहरीबिच झडप भएको हो । उक्त ठाउँबाट प्रहरीले ८० कार्टुन विभिन्न ब्रान्डको मदिरा बरामद गरेको जनाएको छ ।

त्यस्तै बिहानैदेखि आक्रोशित स्थानीय र मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालय राजविराज अगाडि टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।

अहिले राजविराजमा सुरक्षा व्यवश्था कडा पारिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button