बुढिनन्दा तीर्थयात्रा प्रारम्भ-साउन २३ मा मेला लाग्ने
बाजुरा। बाजुराको बुढिनन्दा नगरपालिकामा पर्ने ऐतिहासिक बुढिनन्दा माताको तीर्थयात्रा प्रारम्भ भएको छ।

धार्मिक आस्था र पर्यटकीय गन्तव्य बन्दै गएको बुढिनन्दामा एक हप्ता अगाडि देखिनै तीर्थयात्री त्यसतर्फ प्रस्थान गर्ने क्रम जारी छ। चार हजार पाँच सय ८१ मिटरको उचाइमा रहेको बुढिनन्दा क्षेत्र तालैतालको पाटनका रूपमा समेत परिचित छ। निकै सुन्दर र रमणीय बुढिनन्दा पाटन क्षेत्रमा नौ वटा तालहरू रहेका छन्। सेताम्मे हिँउचुचुरा, तालैतालले भरिएको पाटन, सँगै बग्ने ठूल ठुला झरना, अनि धार्मिक आस्थाको शक्ति केन्द्र, बुढीनन्दा, पछिल्लो समय धार्मिक तीर्थयात्री सँगै पर्यटकहरूका लागि समेत आस्था र आकर्षणको मुख्य गन्तव्य बन्दै गएको छ । विश्वका हिन्दु धर्मावलम्बीहरूको महान् धर्मस्थल मानसरोवरकै फेदीमा अडेको बुढीनन्दा पहाडको सिधा सम्पर्क मानसरोवरसँग छ । त्यस कारण पनि बुढीनन्दा देवीलाई वरदानकी देवी भनेर यहाँका स्थानीयले पूजा पाठ गर्ने गरेका छन् ।

बुढिनन्दा देवीको प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा पूजा हुन्छ । धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागका तालहरूले दिएका छन् । बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट पनि भक्तजन हरू बुढिनन्दामा आउने गरेका बुढिनन्दा नगरपालिकाका प्रमुख जनक बोहराले बताउनुभयो ।भक्तजनहरूले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन् ।

बडीमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मिक विश्वास स्थानीयमा छ । बुढिनन्दामा साउन २३ गते साउन शुक्ल चतुर्दशीमा विशेष पूजा आराधना सहितको मेला लाग्ने भएको छ।पूजाका लागि बुढिनन्दा नगरपालिका लगायत स्थानीय पालिकाका सरकारी पूजा टोली त्यसतर्फ गइसकेका छन्।









प्रतिक्रिया राख्नुहोस्