लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लागौँ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले लक्ष्य भेटाउने गरी सिँचाइ क्षेत्रको विकासमा लाग्नुपर्ने बताउनुभएको छ ।
जलस्रोत तथा सिँचाइ विभागको चौथो त्रैमासिक एवम् वार्षिक समीक्षा गोष्ठीमा आज बोल्दै उहाँले कर्मचारी स्थायी सरकार भएकाले लक्ष्य भेटाउने गरी काम गर्नुपर्ने बताउनुभएको हो ।

उर्जामन्त्री खड्काले वर्षेपिच्छे ठुलो ऋण लिएर राष्ट्रिय गौरवका आयोजना निर्माण गर्दै गर्दा समयमा निर्माण कार्य नहुँदा राज्यलाई ठुलो भार पर्दै गएको भन्दै समयमै काम सम्पन्न गर्ने गरी लाग्नुपर्ने बताउनुभयो ।
उहाँले देशभर २५ लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउनुपर्नेमा हालसम्म १५ लाख ८६ हजार हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको बताउँदै प्रत्येक वर्ष १४ हजार हेक्टरमा सिँचाइ सुविधाको लक्ष्य लिँदा काममा धेरै ढिलाइ हुने बताउनुभयो ।
कम्तीमा प्रत्येक वर्ष एक लाख हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले जिम्मेवारमा बस्नेहरूप्रति प्रश्न उठ्नु स्वाभाविक भएकाले समयमै काम सम्पन्न गर्नेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो ।
जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मित्र बरालले दिगो र भरपर्दो सिँचाइ सुविधा पुर्याउने उद्देश्यका साथ स्थापना भएको विभागले आर्थिक वर्ष २०८१/०८२ मा ८९.१५ प्रतिशत भौतिक प्रगति र ८१.२८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिनुभयो ।
आव २०८१÷०८२ मा जलस्रोत तथा सिँचाइ क्षेत्रमा रु ३३ अर्ब पाँच करोड बजेट विनियोजन भएकोमा रु २६ अर्ब ८६ करोड खर्च भएको छ । यस्तै, गत आवमा ५० किलोमिटर क्षेत्रफलमा तटबन्धन, ४७० हेक्टर जग्गामा उकास गरिएको विभागले जनाएको छ ।
यस्तै, विभागअन्तर्गत रहेका ६ वटा राष्ट्रिय गौरवका आयोजनाबाट दुई लाख ८७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा र ८२.७ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकोमा हालसम्म ६६ हजार ७१० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्नुका साथै ४.७१ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्