मुख्यमन्त्री लामाको राजीनामा पत्र प्रदेश प्रमुखका स्वकीयसमक्ष बुझाइयो
मकवानपुर। बागमती प्रदेशका मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख कार्यालयमा बुझाइएको छ । हिजो हेटौँडामा पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गर्नुभएका लामाको राजीनामा पत्र सोमबार (आज) प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको हो ।

मुख्यमन्त्री बहादुर सिंह लामा तामाङका स्वकीय सचिव क्षत्रबहादुर लामाले आज प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव बलराम गैरेलाई राजीनामा पत्र बुझाउनु भएको हो । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्दै सापकोटाले विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मिति २०८२ साल श्रावण १८ गते देखि लागु हुने गरी नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम राजीनामा दिनुभएको जानकारी दिनुभयो ।
यसअघि आइतबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिने घोषणा गर्नु भएको थियो । पत्रकार सम्मेलनमा मुख्यमन्त्री लामाले राजीनामा पत्रमा हस्ताक्षर गरिसकेको र आफैँ वा स्वकीय सचिव मार्फत राजीनामा पत्र बुझाउने बताउनु भएको थियो । २०८१ साल साउन ९ गते मुख्यमन्त्री रूपमा नियुक्त भएका लामा हालै भएको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियासँग पराजित भएपछि पदबाट राजीनामा दिनु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्