तपाईँ सुन्दै हुनुहुन्छः

जलवायु परिवर्तनले पारेको असरबारे भदौ पहिलो साता अन्तर्राष्ट्रिय सम्मेलन हुने

काठमाडौँ । नेपालको संसद्का तर्फबाट आउँदो भदौ महिनाको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने भएको छ ।

जलवायु परिवर्तनले पारिरहेको असर सम्बन्धमा नेपालको संसद्का तर्फबाट आगामी भदौ २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गरिने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाउनु भई आज स्वदेश फिर्ता हुनुभएका सभामुख घिमिरेले अन्तर व्यवस्थापिक–सङ्घ (आइपियू)का अध्यक्षसँग पनि आउँदो जनवरी ३० र ३१ मा एसिया प्यासिफक रिजनको जलवायुका असरहरूसँग सम्बन्धित एउटा कार्यक्रम गर्नेबारे छलफल गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले पारिरहेको असरलाई लिएर नेपालको संसद्का तर्फबाट अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेकोबारे पनि सम्मेलनमा छलफल भएको छ । भदौको २ र ३ गते अन्तर्राष्ट्रिय सम्मेलन गर्नेछौँ ।”

सभामुख घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा सहभागी हुन यही साउन ११ गते जेनेभा प्रस्थान गर्नुभएको थियो । 

यही साउन १४ देखि १७ गतेसम्म स्विट्जरल्यान्डको जेनेभामा आयोजना भएको सम्मेलनका क्रममा उहाँले संयुक्त अधिराज्य बेलायत, स्विट्जरल्यान्ड, माल्टा, इजरायल, भूटानलगायत मुलुकका सभामुखहरूसँग द्विपक्षीय भेटघाट गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button