तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसले आफ्नो विचार र सिद्धान्त बिर्सन हुँदैन : नेता कोइराला

विराटनगर । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसले आफ्नो विचार र सिद्धान्त बिर्सन नहुने  बताउनुभएको छ ।

गुराँस पुस्तकालयले विराटनगरमा आज आयोजना गरेको मुक्तिप्रसाद– यदुनाथ चापागाईँ सम्मान कार्यक्रममा उहाँले काँग्रेसले आफनोे सैद्धान्तिक धरातल बिर्सँदै जाने हो भने प्रजातन्त्र धरापमा पर्ने बताउनुभयो । 

व्याप्त भ्रष्टाचार, दण्डहीनताका कारण लोकतान्त्रिक व्यवस्था कमजोर बन्दै गएको चर्चा गदै लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न  मुलुकमा सुशासन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 

उहाँले नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकारप्रति नेपाली जनताको ठुलो आशा र भरोसा रहेकाले यो सरकार ठिक ढङ्गले अघि बढोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो ।

उहाँले मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि यदुनाथ चापागाईँले खेल्नुभएको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उहाँको योगदानलाई बिर्सन नहुने बताउनुभयो । 

सो अवसरमा राजनीतिक क्षेत्रबाट पूर्व मन्त्री हरि सापकोटा, सामाजिक क्षेत्रबाट मोहम्मद अन्सारी तथा डा प्रमीला गच्छदारलाई सम्मान गरिएको थियो ।

२०२७ सालमा विराटनगर–४ वरगाछीमा स्थापना भएको सो पुस्तकालयको माध्यमबाट प्रजातन्त्र प्राप्तिका लागि गतिविधि हुने गरेकाले  पुस्तकालयको आफ्नै महत्त्व रहेको सो अवसरमा जानकारी गराइयो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button