बाँदरले स्याउ खान थालेपछि कृषकहरू चिन्तित
मुगु । हिमाली जिल्ला मुगुमा बाँदरहरूले कृषकहरूका बगैँचामा पसेर स्याउ खान थालेपछि कृषकहरू हैरान र चिन्तित भएका छन् ।
पाकेर बजार पुर्याउने अवस्थामा पुगेका बगैँचाका स्याउहरू राती राती बाँदरहरूले खाएर सिध्याइ दिन थालेपछि स्याउ कृषकहरू चिन्तित भएका हुन । छायानाथ रारा नगरपालिका वडा न ५ मा रहेका दुलाल्या,मैतु र जुक्यामुल भन्ने स्थानमा रहेका स्याउ बगैचाहरुमा बाँदरहरू पसेर सकेको खाने र नसकेको झारेर सखाप पार्ने गरेको स्थानीय स्याउ कृषक हरि बहादुर रोकायाले जानकारी गराउनुभयो ।

यी स्थान रारा राष्ट्रिय निकुञ्जसँग जोडिएकाले राती बाँदरहरू निकुञ्जबाट बगैँचामा पस्ने बिहानै फर्कने गर्दै आएका छन् ।
दिउँसो त हेराला बसेर बाँदर धपाउने गर्छौ तर राती कताबाट बगैँचामा सुटुक्क पस्छन पत्तै हुँदैन पीडित स्याउ कृषक दिन बहादुर बुढा भन्नुहुन्छ आफ्नो १०० बोट भन्दा बढीको स्याउ बगैँचा छ । वार्षिक स्याउ विक्रीबाट ४/५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो यही आम्दानीले वर्षभरिको घरखर्च धान्थ्यो तर यो वर्ष सबै बाँदरले खाइदिए घर खर्च कसरी जुटाउने चिन्तित छु ।
बुढा मात्र होइन बाँदरले बगैँचाका स्याउ खाइदिएपछी १ दर्जन बढी स्याउ कृषक अहिले चिन्तामा छन् उनीहरू भन्छन् निकुञ्जले गर्दा हामीले क्षति व्यहोर्नु परेको छ निकुञ्जले आफूहरूलाई राहत दिनु पर्नेछ ।
हामीले वर्षभरि मेहनत गर्ने अन्तिममा निकुञ्जबाट बाँदरहरू आएर खाइदिने हामी त बरबाद भयौ । छोराछोरी घरपरिवार कसरी पाल्ने,घरखर्च कहाँबाट ल्याउने अर्का पीडित कृषक तोर्ची कामी पीडा सुनाउनु हुन्छ ।
स्याउ कृषक हरि बहादुर रोकायाले दिएको जानकारी अनुसार बाँदरहरूले ७ सय १० भन्दा बढी स्याउका बोटमा लागेका अन्दाजी ५६ हजार ८ सय केजी स्याउ सखाप पारेका छन् । क्षति पारेको स्याउको आजभोलिको होलसेल खरिद मूल्य मुल्याकन गर्दा २८ लाख ४० हजार बराबरको क्षति भएको देखिन्छ ।

बाँदरहरूले छायानाथ रारा नगरपालिका वडा न ५ का कृषकहरू मुन कार्की,दिन बहादुर बुढा,बाच्या कार्की,धन बहादुर कार्की,सक्क बुढा,सिधा बुढा,कृष्ण रावल,सीता भाम,तोर्छे कामी,जङ्गवीर कामी र मणिचन्द्र कार्कीको स्याउ बगैँचाका स्याउहरू खाएर सखाप पारेका छन् ।
मध्यवर्ती क्षेत्र भित्र जनताले आफ्ना खेत गरावारिमा लगाएको अन्नवालिमा वन्यजन्तुहरूले खाइ दिए वा क्षति पारे क्षतिपूर्ति दिने व्यवस्था भएकाले यदि स्याउ अन्नबाली भित्र पर्छ भने रित अनुसार पीडित कृषकहरूले निकुञ्जको कार्यालयमा निवेदन दिए निकुञ्ज कार्यालयले राहत स्वरूप तोकिएको मापदण्डमा रही राहत दिने रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्