मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका–५, ताल्चामा दुई दाजुभाइ मिलेर पहिलो पटक फुजी जातको स्याउको व्यावसायिक उत्पादन सुरु गरेका छन्। स्थानीय हरीबहादुर रोकाया र रामभक्त रोकाया दुई दाजुभाइ मिलेर करिब एक हल क्षेत्रफल क्षेत्रफल जग्गामा फुजी जातको स्याउ को व्यावसायिक उत्पादन सुरु गरेका हुन्।

उनीहरूले राष्ट्रिय कृषि आधुनिकीकरण इकाई कार्यालय मुगु (सिमीजोन) ले रोकाया लगायत ४ जना कृषकहरूलाई ५० प्रतिशत अनुदानमा फुजी स्याउका बिरुवा गत वर्ष वितरण गरेपछि उहाँहरूले फुजी स्याउको उत्पादन सुरु गरेका हुन् ।
रोकायाले छायाँनाथ रारा नगरपालिका वडा नं ५ ताल्चमा र वडा नं ४ का मनबहादुर भाम,वडा नं ५ का प्रदीप रावल र वडा नं ५ का जस बुढाले मुसेचौर मैतु र सुपमा उन्नत प्रजातको बिरुवा रोपेका थिए । हाल स्याउका बिरुवा राम्रोसँग हुर्किँदै गएको र यस वर्ष देखि फल दिन थालेको कृषक हरिबहादुर रोकायाले जानकारी दिनु भयो ।
कृषक रोकायाले ४ सय फुजी स्याउका बोट लगाएका छन् । फुजी स्याउ अत्यन्तै स्वादिलो र छिटो फल्ने र अन्य जातका स्याउहरू भन्दा महँगो पर्ने भएको भएकाले आफूहरू यस जातको स्याउ उत्पादनमा लागेको कृषकहरूको भनाई छ ।
‘जिल्लामा धेरैजसो पुरानै जातका स्याउ उत्पादन हुँदै आएको थियो, तर बजारमा फुजी जातको माग धेरै भएकाले जोखिम उठाएर व्यावसायिक खेती सुरु गरेका हौँ ’– कृषक हरीबहादुर रोकायाले जानकारी दिनुभयो ।
यसअघि कर्णाली प्रदेशका केही जिल्लामा परीक्षणका रूपमा फुजी जातको स्याउ लगाइएको भए पनि मुगुमा भने यो पहिलो पटक हो। फुजी जातका स्याउ स्वादिलो, टिकाउ, र बजारमुखी मानिन्छ।
स्थानीय तह तथा कृषि कार्यालयले प्राविधिक सहायता तथा अनुदानको व्यवस्था गर्न सकेमा यस क्षेत्रलाई फुजी स्याउको उत्पादन केन्द्रको रूपमा विकास गर्न सकिने सम्भावना स्थानीयले देखेका छन्।
‘व्यावसायिक कृषि र स्याउको सुधारिएको जातमा लगानी बढाउन सकेमा युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ’– रामभक्त रोकायाको भनाइ छ।
मुगुजस्तो उच्च हिमाली जिल्लामा जलवायु र माटो फुजी स्याउका लागि उपयुक्त मानिएको छ। कृषि विज्ञहरूका अनुसार सरकारी सहयोग र बजार सुनिश्चित भएमा मुगुमा स्याउ खेतीले नयाँ सम्भावनाको ढोका खोल्न सक्छ।
प्रतिक्रिया राख्नुहोस्