‘यथास्थितिमा पत्रकार महासङ्घले मिडिया काउन्सिल विधेयक मान्दैन’
नेपालगन्ज । नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले यथास्थितिमा मिडिया काउन्सिल विधेयक नमान्ने स्पष्ट पार्नुभएको छ । विधेयकका धेरै बुँदामा नेपाल पत्रकार महासङ्घको असहमति रहेको भन्दै आचार्यले सच्चिएर नआए नमान्ने स्पष्ट पार्नुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँके शाखाले आज नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आमसञ्चार विधेयक पनि नियमन गर्ने नाममा नियन्त्रणमुखी भएको भन्दै महासङ्घले विरोध जनाइसकेको स्मरण गर्नुभयो । उहाँले पत्रकार महासङ्घको शुद्धीकरण अभियान निरन्तर चल्ने प्रक्रिया भएको भन्दै दस्तावेजीकरणका लागि नवीकरण गर्दा यस पटक आवश्यक सम्पूर्ण कागजात मागिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले राज्यले मिडिया नियन्त्रण गर्ने नियत राखेको बताउँदै मिडियामैत्री कानुन अनिवार्य सर्त रहेको बताउनुभयो । उहाँले सङ्घीयताको लाभ मिडियाले पाउन नसकेको उल्लेख गर्नुभयो । पोख्रेलले नव-लोकप्रियतावादी मौलाए भने त्यसको प्रहार मिडियामाथि हुने भन्दै अहिले देखिएको सिनारियो पनि त्यसकै अंश रहेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले काउन्सिलमा आफूले मिडियामैत्री भूमिका खेल्ने बताउनुभयो । काउन्सिलले प्रदान गर्ने पुरस्कार प्रश्नको घेरामा रहने गरेको स्मरण गर्दै उहाँले यस पटक कार्यविधि बनाएर पारदर्शी ढङ्गले काम गर्ने प्रयत्न भइरहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्ष प्रेम केसी, नीरज गौतम, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष लोकनाथ शर्मा, कमल खत्री, सावित्री गिरी, विजय मल्ल लगायतले महासङ्घ र प्रेस काउन्सिलसँग सम्बन्धित विषयमा सुझावसँगै जिज्ञासा राख्नुभएको थियो ।
नेपाल पत्रकार महासङ्घ बाँकेका सचिव कृष्ण ओलीले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष गिरीले कार्यवाहक अध्यक्ष आचार्य, निवर्तमान अध्यक्ष पोख्रेल र काउन्सिल सदस्य अर्याललाई खादा लगाएर स्वागत गर्नुभएको थियो भने बाँके शाखाले प्रकाशित गरेको २०८२ सालको भित्ते पात्रो पनि प्रदान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्