तपाईँ सुन्दै हुनुहुन्छः

सुक्खाबाट उत्पन्न सङ्कट समाधान गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण

महेन्द्रनगर (धनुषा) । सुक्खा र पानी अभावका कारण उत्पन्न सङ्कट समाधान गर्न मधेस प्रदेशका प्रमुख प्रतिपक्षी दलहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वमा प्रतिपक्षी दलका सांसदहरूले आज मुख्यमन्त्री सतिशकुमार सिंहलाई भेटी औपचारिक ध्यानाकर्षण पत्र बुझाएको हो । 

ध्यानाकर्षण पत्रमा प्रदेशका सुक्खा ग्रस्त क्षेत्रमा सिँचाइको तत्काल व्यवस्था, कृषि ऋणमा छुट, मलखादको न्यायोचित वितरण, तथा खानेपानीको अभाव समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ ।

प्रतिपक्षी सांसदहरूले जलस्रोत संरक्षणका दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँहरूले नेपालको जीवनरेखा भनिने चुरे क्षेत्रको दोहन रोक्नु, जलाशय निर्माण गर्नु र सतही तथा भूमिगत सिँचाइ योजनालाई प्राथमिकतामा राखी कार्य अघि बढाउन माग गर्नुभयो ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “मधेस प्रदेशलाई दीर्घकालीन रूपमा जलसङ्कटबाट जोगाउन चुरे क्षेत्रको संरक्षण र जलाधार व्यवस्थापन अनिवार्य छ । सरकार मौन बस्न पाउँदैन ।” कृषि ज्ञान केन्द्रमार्फत बोरिङ जडानसम्बन्धी जारी गरिएको सूचना झन्झटिलो र विभेदपूर्ण भएको गुनासो गर्दै सबै पालिका समेटिने गरी पारदर्शी प्रक्रिया अपनाउन सरकारसँग माग गरिएको हो । साथै, नदीनाला, कुलो, पैनीहरूका जीर्णोद्धार गरी सतही सिँचाइ प्रणाली व्यवस्थित गर्नुपर्ने माग पनि गरिएको छ ।

पूर्व मुख्यमन्त्री तथा प्रमुख प्रतिपक्षी नेता यादवले अविलम्ब राहतको व्यवस्था नगरेमा चुप लागेर नबस्ने सडकमा उत्रन बाध्य हुने चेतावनी दिनुभएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा जनता समाजवादी पार्टी नेपालसँगै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेश सांसदहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button