धार्मिक आस्थाको केन्द्र बन्दै बुढीनन्दा
बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकामा पर्ने ऐतिहासिक बुढिनन्दा क्षेत्र धार्मिक आस्थाको गन्तव्य बन्दै गएको छ।

चार हजार पाँच सय ८१ मिटरको उचाइमा रहेको बुढिनन्दा तालै तालको पाटनका रूपमा समेत परिचित छ। निकै सुन्दर र रमणिय बुढिनन्दा पाटन क्षेत्रमा नौ वटा तालहरू रहेका छन्। सेताम्मे हिउँ चुचुरा, तालै तालले भरिएको पाटन, सँगै बग्ने ठुला ठुला झरना, अनि धार्मिक आस्थाको शक्ति केन्द्र, बुढीनन्दा, पछिल्लो समय पर्यटक हरूका लागि समेत आस्था र आकर्षणको मुख्य गन्तव्य बन्दै गएको छ ।

विश्वका हिन्दु धर्मावलम्बीहरूको महान् धार्मिक स्थल मानसरोवरकै फेदीमा अडेको पहाडको नाम हो, बुढीनन्दा । बुढीनन्दा पहाडको सिधा सम्पर्क मानसरोवरसँग छ । त्यसकारण पनि बुढीनन्दा देवीलाई वरदानकी देवी भनेर यहाँका स्थानीयले पूजा पाठ गर्ने गरेका छन् ।

बुढीनन्दा जसरी विश्वास र आस्थाले अडेको छ । त्यो भन्दा बढी सुन्दरताले पनि भरिएको देखिन्छ । बुढीनन्दा पाटनभित्र कैलाश ताल, राक्षस ताल, त्रिवेणी, दउने ताल, देवताल सहित दर्जनको सङ्ख्यामा ताल भेटिन्छन् । त्यस्तै आधा दर्जन झरनाहरूको सुन्दरता पनि अलौकिक छ । चार हजार पाँच सयमाथिको उचाइमा पनि झरना भेटिने कुरा निकै अपत्यारिलो छ ।तर बुढिनन्दाको त्यो वास्तविकता हो ।बुढीनन्दाभित्रका तालहरू मनाङको तिलिचोपछि दोस्रो उचाइमा छन् ।

बुढिनन्दा देवीको प्रत्येक वर्ष जनै पूर्णिमाको अवसरमा पूजा हुन्छ । धार्मिक आस्थाको धरोहरका रूपमा रहेको बुढीनन्दा क्षेत्रको महिमा उच्च भागका तालहरूले दिएका छन् । उक्त क्षेत्रबाट मुगु, हुम्ला कालिकोट सहितका जिल्लाहरूको दृश्य नियाल्न सकिन्छ । बझाङमा रहेको साइपाल हिमाल र जेठीबौरानीको मनमोहक दृश्य समेत बुढिनन्दा बाट हेर्न सकिन्छ ।

बाजुरा लगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट पनि भक्तजन हरू बुढिनन्दामा आउने गरेका छन्।
भक्तजनहरूले सन्तान र धन प्राप्तिका लागि बुढीनन्दा देवीको दर्शन गर्ने गरेका छन् । बडीमालिका देवीले नदिएको बर बुढीनन्दा देवीले दिने धार्मिक विश्वास स्थानीयमा छ । बुढिनन्दामा साउन २३ गते साउन शुक्ल चतुर्दशीमा विशेष पूजा आराधना सहितको मेला लाग्ने भएको छ।
प्रतिक्रिया राख्नुहोस्