गुल्मीमा ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न

गुल्मी । गुल्मीका किसानहरू यति बेला खेतमा धान रोपाइँमा व्यस्त बनेका छन् ।
वर्षा सुरु भएसँगै यहाँका किसानहरूलाई खेत रोपाइँको चटारो बढ्दै गएको छ । केही ठाउँमा पानीका मुहानहरू नफुटेका कारण छिटपुट रूपमा टारीहरूमा रोपाइँ नभए पनि जिल्लाका अधिकांश स्थानमा यस पटक समयमै धान रोपाइँ भएको छ ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यस पटक जिल्लामा साउन महिनाको दोस्रो सातासम्म आइपुग्दा जिल्लामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ । जिल्लामा ७ हजार ९ सय ८८ हेक्टर क्षेत्रफल मध्य ६ हजार ९५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी शिवप्रसाद बञ्जाडेले जानकारी दिनुभयो ।
गत वर्षको तुलनामा यस पटक खेत रोपाइँको प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म आइपुग्दा ७६ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको थियो । समयमा पानी परेका कारण किसानहरूले यस पटक छोटो अवधिमा धेरै खेत रोप्ने अवसर पाएका हुन । यस पटक धान रोपाइँ गर्ने प्रतिशत बढे पनि रोप्ने खेतको क्षेत्रफल भने घट्दै गएको बताइएको छ । जसका कारण धान उत्पादन हुने क्षेत्रफल मध्य यस वर्ष जिल्लामा ९० प्रतिशत खेतमा मात्र धान रोपाइँ हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी बञ्जाडेले बताउनुभयो ।

खेतमा धान रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण जनशक्तिको अभाव, बढ्दो बसाइसराई, गोरुको अभाव, समयमा जोत्नका लागि ट्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्याला लगायतका समस्या रहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार गत वर्षको तुलनामा जिल्लामा यस वर्ष समयमा वर्षा सुरु भएसँगै किसानहरू धान रोपाइँमा व्यस्त बनेका छन् । यस पटक धान रोप्नको लागि केही छल्दी फाँटमा आकाशे पानीको भर परेर बस्नु परे पनि अन्यत्र ठाउँमा भने समयमै धान रोपाइँ भएको छ ।
जिल्लामा धान उत्पादनको कुल क्षेत्र मध्य गत वर्ष चैते धान एक हजार २८६ र वर्षे धान २३ हजार १४० मेट्रिकटन उत्पादन भएको छ । जिल्लामा धानका हंसराज, झोप्री, थापचिनी, पाखे, मार्सी, रातो मार्सी, जडन, झिनुवा लगायतका स्थानीय जात रहेका छन् । उन्नत जातहरूमा साँवा मन्सुली, खुमै १, खुमै ४, हिमाली हाइब्रिड, रामधान लगायत छन् ।
जिल्लामा बडिगाड फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदी, खैरेनी, खज्र्याङ्ग शान्तिपुर, मजुवा लगायतका फाँटहरू धान उत्पादनको लागि मुख्य पकेट क्षेत्रहरू हुन । गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिने गरेको छ भने अरू बाँकीमा बर्खे धान रोपिन्छ । गुल्मीमा धान वाली मकैपछिको दोस्रो प्रमुख खाद्यान्न बाली अन्तर्गत पर्दछ ।
प्रतिक्रिया राख्नुहोस्