देशमा आर्थिक सुधारका राम्रा लक्षण देखा पर्न थालेका छन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले १५ औ र १६औँ योजनामा लिएको लक्ष्य संवृद्ध नेपाल र सुखी नेपालीको सफल कार्यान्वयनको नतिजा देखा पर्न थालेको बताउनुभएको छ ।

नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन २०८१ माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा आर्थिक सुधारका राम्रा लक्षण देखा पर्न थालेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले चालू १६औँ योजनाको सामाजिक न्याय, सुशासन र समृद्धिका दुरदृष्टि, लक्ष्य र उद्देश्यहरू एलडीसी स्तरोन्नति पछिको अवस्थालाई आधार मानी तयार गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले ४५ देशको एलडीसी समूहको नेतृत्व गरेको नेपाल ७ मुलुक सँगै अर्को वर्ष स्तरोन्नति हुनु खुसीको कुरा भएको भन्दै यसले अन्तर्राष्ट्रिय छवि उँचा हुने र नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढ्ने सङ्केत गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले अति कम विकसित राष्ट्रको हैसियतले प्राप्त गर्ने सुविधा, सहुलियत, संयुक्त राष्ट्रसङ्घ अन्तर्गत प्राप्त हुने विशेष सुविधा, विश्व बैङ्क, युरोपियन युनियन लगायतले दिएको सुविधामा केही कटौती हुने स्थिति आङ्कलन गरेर गत वर्षदेखि नै कूटनैतिक पहल गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रको स्तरोन्नतिलाई दिगो बनाई राख्न केही कानुन खारेज गर्ने, केही संशोधन गर्ने र केही कानुन नयाँ बनाउनु पर्ने अवस्था रहेकोले यसमा प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरूको कार्यान्वयनमा प्रभावकारिता बढिरहेको, द्विपक्षीय बहुपक्षीय सहकार्यबाट पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन, लगानी वृद्धि गर्न र ऋण लिन सहयोग पुग्ने गरी अवसर जुटेको बताउनुभयो ।
उहाँले खरिद ऐन, निर्माणसँग सम्बन्धित नीति तथा कानुनहरूको अध्ययन गरी संशोधन गर्नेतर्फ सरकार केन्द्रित रहेका र व्यक्तिगत एवं संस्थागत क्षमता विकासमा जोड दिइएको पनि बताउनुभयो ।
नेपाललाई अति कम विकसित मुलुकको सूचीमा सूचीकृत गरेको ५५ वर्ष पछि स्तरोन्नतिको अवसर प्राप्त भएको हो ।
नेपालले सन् २०१० देखि आवधिक योजना, बजेट तथा कार्यक्रममार्फत स्तरोन्नतिका प्रयास गर्दै आएको थियो ।
संयुक्त राष्ट्रसङ्घले सन् २०१५, २०१८ र २०२१ मा गरेको मूल्याङ्कनमा नेपालको मानव सम्पत्ति सूचकाङ्क र आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्कमा नेपालले प्रगति गरेको जनाएको थियो तर प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा हालै मात्र सुधार आएको स्थितिले नेपाललाई सन् २०२६ मा मात्र यो अवसर आएको हो ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदनमा समावेश भएका सुझावहरूलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभयो ।
यस्तै राष्ट्रिय सभाको आजको बैठकले चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।
राष्ट्रिय सभाको अर्को बैठक साउन २३ गते शुक्रवार बिहान ११ ः १५ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्