तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सोलो प्याराग्लाइडिङ उडान सुरु

पोखरा । पर्यटनको राजधानी पोखरामा करिब ३३ महिनापछि साहसिक खेल प्याराग्लाइडिङको सोलो (एकल) प्याराग्लाइडिङ उडान पुनः सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई विशेष ध्यान दिँदै सोलो उडानलाई पुनः अनुमति दिएसँगै हाल पोखरामा सोलो प्याराग्लाइडिङ उडान सञ्चालन भएको हो ।

पर्यटनको हाल अफ सिजन र बर्साद मौसम भएकोले गर्दा दैनिक जसो ५/७ जना अनुभवी र डेण्डम पाइलटहरूले नै एकल उडान गर्न सुरु गर्नुभएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसीले बताउनुभयो । विदेशी र नयाँ प्याराग्लाइडिङ पाइलटहरूको हकमा भने केही समय पश्चात् अभिमुखीकरण कार्यक्रम सहित रेडियो र जिपिएसको समेत व्यवस्था गरेर मात्र सोलो उडानको लागि सहजीकरण गरेको उहाँले जनाउनुभयो । 

तत्काल सोलो प्याराग्लाइडिङ गर्न चाहेमा विदेशी र नयाँ प्याराग्लाइडिङ पाइलटहरूलाई समय व्यवस्थापन देखि रेडियो र जिपिएस जडानको विषयमा हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्थल नागरिक उड्डयन कार्यालयसँग समेत समन्वय गरी सम्बन्धित प्याराग्लाइडिङ कम्पनीको समन्वयमा मात्र उडान गर्न दिने भएको नाले जनाएको छ ।

विश्वकै उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्यमध्ये एक मानिने पोखरामा सोलो उडान बन्द हुँदा हरेक वर्ष करोडौँको राजस्व गुम्दै आएको अध्यक्ष केसीले दाबी गर्नुभयो । साथै, खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ असोज ३० गते देखि उक्त उडान बन्द भएसँगै नाले हरेक वर्ष आयोजना गर्दै आएको खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता विगत ४ वर्षदेखि प्रभावित हुँदै आएको छ । पोखरा भ्रमण वर्ष २०२५ मनाई रहँदा पोखराको मुख्य पर्यटकको आकर्षणको रूपमा रहेको प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालनको लागि महानगर, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डले आवश्यक सहयोग गरेको खण्डमा यही अग्रेंजी वर्ष भित्रमा राष्ट्रिय एवं खुल्ला प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने आफूहरू योजनामा रहेको अध्यक्ष केसीले सुनाउनुभयो ।

हालसम्म करिब ४ सय पाइलटले लाइसेन्स प्राप्त गरेका छन् भने २४० जना प्रत्यक्ष रूपमा यो पेसामा आबद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button