तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले तराईमधेशमा शुख्खाग्रस्त हुँदा उत्पन्न समस्या, गर्मी र वर्षा याममा लाग्ने डेंगुलगायतका रोगको नियन्त्रण, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

बैठकमा सांसदहरूले गर्मी र वर्षा सुरु भएसँगै डेंगु बढेको भन्दै त्यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरूले सङ्घीय सरकारले मधेस प्रदेशमा सङ्कटग्रस्त क्षेत्र घोषणाले मात्रै समस्या समाधान नहुने भन्दै खानेपानी र सिँचाइको व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गर्नुभयो ।

सांसदहरूले जलवायु परिवर्तनका कारण अतिवृष्टि, अनावृष्टि र अल्प वृष्टिको समस्या देखिएको, तराई मधेससँगै पहाडी भागमा समेत खानेपानी र सिँचाइको समस्या उत्पन्न भएको भन्दै समस्या समाधानका लागि प्रभावकारी योजना ल्याउन माग गर्नुभयो । 

नेपालमा जलबायुपरिवर्तनका कारण तराई देखिने विषालु सर्प पहाडी र हिमाली क्षेत्रमा समेत फैलन थालेको र सर्प दंशका कारण धेरै मानिसले ज्यान गुमाउनु परिरहेको भन्दै सर्प दंशको सहज उपचारको व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसदहरूले अख्तियार, शिक्षा लगायतका विधेयक विषयगत समितिमा छलफलमा भइरहेको ढिलाइका सम्बन्धमा मा सदनको ध्यानाकर्षण गराउनुभयो ।

यसैबिच, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गर्दै गत जेठ १३ गते देखी सदनमा उनीहरूले विरोध गर्दै आएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button