थारू संस्कृति जगेर्ना गर्दै लुम्बिनी प्रदेश: सांस्कृतिक ग्राम निर्माण
बाँके । थारू समुदायको सांस्कृतिक पहिचान, कला, भाषा र जीवनशैलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित लुम्बिनी प्रदेश सरकारले थारू सांस्कृतिक ग्राम निर्माणको काम सुरु गरेको छ।
थारू समुदायको बाक्लो बसोबास रहेको बाँके, बर्दिया र दाङका विभिन्न स्थानमा यो कार्यक्रम लागू गरिएको हो। पर्यटन डिभिजन कार्यालय कोहलपुरका अनुसार बाँकेको कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका, दाङको घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिका तथा बर्दियाको राजापुर नगरपालिकामा थारू सांस्कृतिक ग्राम निर्माणको काम अघि बढाइएको हो।
कार्यालयका प्रमुख टङ्कनाथ खनालका अनुसार संस्कृति जगेर्नासँगै स्थानीय समुदायको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले भौतिक पूर्वाधार निर्माण र सीप अभिवृद्धि तालिम सञ्चालन गरिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै दाङ, बाँके र बर्दियाका २५० भन्दा बढी स्थानीयवासीलाई होमस्टे सञ्चालन तथा कृषि पर्यटनसम्बन्धी तालिम प्रदान गरिएको छ।
पर्यटन डिभिजन कार्यालयका अधिकृत बालकृष्ण चौधरीका अनुसार, “तोकिएको क्षेत्रका नागरिकलाई पर्यटन तथा रोजगारीसँग जोड्ने उद्देश्यले होमस्टे तालिम सञ्चालन गरिएको हो।” तालिममा सहभागीलाई पाहुनाको सत्कार, थारू पाककला, नृत्य, लोकसंस्कृति र स्थानीय उत्पादनको उपयोग सम्बन्धी ज्ञान दिइएको छ।
बाँकेको गाभरस्थित थारू होमस्टेका सञ्चालक कृष्ण चौधरी भन्नुहुन्छ “घरेलु उत्पादनबाट पाहुनालाई स्वागत गर्ने सीप, परम्परागत पाककला र थारू नाचगानको अभ्यास समेत गराइन्छ। यसले पाहुनालाई सांस्कृतिक अनुभव दिन्छ, स्थानीयलाई आम्दानी दिन्छ।”
थारू सांस्कृतिक ग्रामको अवधारणाले प्रदेश सरकारको पर्यटन प्रवर्द्धनको रणनीति मात्र नभई, जातीय पहिचान र परम्परागत ज्ञानको संरक्षणतर्फको प्रयास पनि दर्साउँछ।
सरकारको विशेष अनुदानमा सञ्चालनमा आएको यस कार्यक्रमले संस्कृति जगेर्नासँगै कृषि, हस्तकला र होमस्टे पर्यटनलाई पनि जोड्ने उद्देश्य लिएको छ। यो कार्यक्रम थारू समुदायका लागि रोजगारीको स्रोत बन्ने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेश सरकारले अघि बढाएको थारू सांस्कृतिक ग्राम निर्माण कार्यक्रमले न केवल थारू संस्कृति जोगाउने काम गर्नेछ, बरु ग्रामीण पर्यटन र समुदायको आर्थिक सशक्तीकरणमा समेत टेवा पुर्याउनेछ।
प्रतिक्रिया राख्नुहोस्