वरिष्ठ गायिका गोलेको निधन, पार्थिव शरीर श्रद्धाञ्जलिका लागि सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने
काठमाडौँ । नेपाली लोक एवं तामाङ सेलो क्षेत्रका वरिष्ठ गायिका इन्दिरा गोलेको निधन भएको छ । उहाँको गए राति करिब १२ बजे ललितपुरको हातिवनस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
तिन दशकभन्दा लामो समयदेखि नेपाली गीतसङ्गीतमा योगदान पुर्याउँदै आउनुभएकी गायिका बिशेषत् लोक सङ्गीतमा चाँगुनारानथान, जाईफुलको बास्ना , सफा ट्याम्पुरी जस्ता सदाबहार लोकप्रिय गीतका कारण नेपाली श्रोतामाझ चिरपरिचित रहनु भएको थियो । त्यस्तै मौलिक गायनमार्फत तामाङ सेलो क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु भएकी गायिकाको दर्जनौँ तामाङ सेलो गीतहरु लोकप्रिय रहेका छन् ।

बुबा जीतबहादुर गोले र आमा प्रेममाया लोप्चनको कोखबाट ललितपुरको भारदेउ, कोन्ज्योसोममा वि सं २०२३ साल कार्तिक ३ गते जन्मनुभएकी गायिकाले २०४५ सालमा रेडियो नेपालबाट स्वर-परीक्षा पास गरेपश्चात् गायन क्षेत्रमा क्रियाशील रहनुभएको थियो । आमा प्रेममायालाई सङ्गीत गुरुका रुपमा लिनुहुने गायिकाले गाउँमा हुने मेलापात र हाटबजारबाट गीत गाउन सुरु गर्नुभएको थियो, विशेषत काठ-क्षेत्रमा प्रचलित लोकभाकाबाट आफ्नो व्यावसायिक संगितयात्रा सुरु गर्नुभएको उहाँले अमर नेपालीको तामाङ गीति सङ्ग्रहमा पहिलो चोटि तामाङ भाषामा गीत रेकर्ड गर्नुभएको थियो । सङ्घर्षका दिनहरूमा गलैँचा बुन्दै लोक संगितमा सक्रिय रहनुभएकी गायिका गोले तामाङ सङ्गीतमा पनि उस्तै गरि सक्रिय रहनुभयो । उहाँले तामाङ मौलिक सङ्गीत, आधुनिक एवं चलचित्रका गरी दजनौँ कालजयी रचनाहरूमा आफ्नो स्वर भर्नुभएको छ भने देशैभरीका विभिन्न समुदायद्वारा गाइने सयौँ लोकभाकाहरुमा पनि आफ्नो स्वर भर्नुभएको छ ।

करिब ५ हजार गीतहरूमा स्वर दिनुभएकी गायिका उमेरको करिब ६० को दशकमा पुग्नै लाग्दा पनि सङ्गीतमै व्यस्त रहनुभएको थियो । तामाङ कलाकार सङ्घको पूर्व अध्यक्ष समेत रहनुभएकी गायिका गोले दुई वर्षअघिदेखि क्यान्सर पीडित हुनुहुन्थ्यो । सङ्घर्षशील, र स्वाभिमानी गायिकाको रुपमा समेत आफ्नो छवि निर्माण गर्नुभएकी गायिकाको निधनले समग्र नेपाली लोक संगित (तामाङ सेलो) मा अपूरणीय क्षति पुगेको छ ।

उहाँको पार्थिव शरीरलाई सम्मानसहित श्रद्धाञ्जलिका लागि आज ११ बजेदेखि १ बजेसम्म सङ्गीत नाट्य प्रतिष्ठानमा राखिने र अन्तिम संस्कार बौद्ध परम्पराअनुसार आजै स्वयम्भूमा गरिने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्