तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा दोब्बर वृद्धि

डडेल्धुरा । डडेल्धुरामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटनामा दोब्बर सङ्ख्याले वृद्धि भएको छ । 

डडेल्धुरा जिल्ला अदालतमा गत वर्ष सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको अदालतले जनाएको छ 

डडेल्धुरा जिल्ला अदालतका श्रेस्तेदार दामोदर रेग्मीले सबैभन्दा बढी मुद्दा श्रीमान् र श्रीमतीको नाता सम्बन्ध विच्छेद कै रहेको र ९० मुद्दा फर्छ्यौट भएको बताउनुभयो । त्यस्तै, जबरजस्तीकरणीका १८ लागु औषधका १४ सवारी ज्यानका १० बैङ्किङ कसुरका १० बाँकी अन्य मुद्दा दर्ता भएको उहाँले जानकारी दिनुभयो । व्यक्तिवादी देवानी मुद्दा १३५ मध्ये १०६, दुनियाँवादी फौजदारी मुद्दा २५ मध्ये २१, सरकारवादी फौजदारी मुद्दा ११५ मध्ये ९९ र रिट निवेदन ३ मध्ये ३ वटा नै  फर्छ्यौट भएको श्रेस्तेदार रेग्मीले जानकारी दिनुभयो । 

डडेल्धुरा जिल्लामा दिन–प्रतिदिन सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा कानुनी सहजता भएको कानुन व्यवसायी लालबहादुर जाग्रीले बताउनुभयो । “केही वर्ष अगाडिसम्म सम्बन्ध विच्छेद गराउँदा निकै झन्झटिलो प्रक्रिया थियो” उहाँले भन्नुभयो, “अहिले कानुनी प्रक्रिया निकै सहज भएकाले सम्बन्ध विच्छेदका घटनाहरूमा वृद्धि भएको छ ।”

 सम्बन्ध विच्छेदका लागि आउने जोडीलाई सकभर मिलाउने प्रयास गर्छौँ तर कदाचित मिल्न नसक्नेहरूको हकमा न्याय सङ्गत रूपमा सम्बन्ध विच्छेद गराउने परिपाटीको विकास भएको अधिवक्ता जाग्रीले बताउनुभयो । 

“सामाजिक सञ्जालको प्रयोगले पनि नराम्रो प्रभाव पारेको छ” उहाँले भन्नुभयो, “अनैतिक सम्बन्धले पनि सम्बन्ध विच्छेदका घटना बढ्न थालेका छन् । उमेर नपुगी विवाह हुनु, विवाह लगत्तै केटा वा केटी सँगसँगै लामो समयसम्म बस्न नपाउँदै वैदेशिक रोजगारमा जानु, सामाजिक सञ्जालको दुरुपयोग हुनु संयुक्त परिवार खण्डित भएर एकल परिवार हुनु, कानुनी सचेतना बढ्नु र कानुन व्यवसायीहरूको गलत सल्लाहका कारण सम्बन्ध विच्छेदका मुद्दा बढ्न बढेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button