अर्थमन्त्री पौडेल र सिड्का अध्यक्षबीच भेट, चार परियोजना समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ नेतृत्वको प्रतिनिधिमण्डलबिच सोमबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विकास साझेदारी, र हाल सञ्चालनमा रहेका तथा आगामी योजनाबद्ध परियोजनाबारे छलफल भएको थियो।
द्विपक्षीय भेटवार्ता पश्चात् चारवटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट निर्माण र निजामती कर्मचारी अस्पताल विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारीपत्रमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभएको हो।

बीपी क्यान्सर अस्पतालमा १,८३४ वर्ग मिटर क्षेत्रफलमा बोन म्यारो उपचार केन्द्र निर्माण र आवश्यक उपकरण जडान र निजामती अस्पतालको सम्भाव्यता अध्ययनले भविष्यमा विस्तारको मार्ग खुलाउने अपेक्षा गरिएको छ।

त्यस्तै, मानव संसाधन विकाससम्बन्धी समझदारीअन्तर्गत १,२७० जना सरकारी कर्मचारीले चीनमा आयोजना हुने द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा सहभागी हुने अवसर पाउनेछन्।
रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययनसम्बन्धी माइन्युटमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रममा अर्थमन्त्री पौडेलले उच्चस्तरीय भ्रमणले नेपाल–चीन सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि सिड्का अध्यक्षलाई धन्यवाद दिनुभएको थियो। अर्थ सचिव उपाध्यायले हस्ताक्षर भएका परियोजनाले स्वास्थ्य, मानव संसाधन र ऊर्जा क्षेत्रमा योगदान पुग्ने बताउनुभयो।
यसै क्रममा, सिड्का अध्यक्ष सियाओदोङले हालैको बाढीबाट प्रभावित रसुवा जिल्लामा भौतिक पूर्वाधार पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम अघि बढाउने पनि जानकारी दिनुभयो।
अर्थमन्त्री पौडेलले रसुवा नाका राजस्वका हिसाबले पनि महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै पुनर्निर्माण छिटो अघि बढाइने बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्