तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा ८० प्रतिशत धान रोपाई सकियो 

चितवन । चितवनमा असार सकिएर साउन लाग्दा सम्म पनि रोपाई सकिएको छैन । जिल्ला कृषि विकास कार्यालय चितवनले असार महिनासम्म चितवनमा धानखेती हुने जमिनमध्ये ८० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको जनाएको छ ।

कार्यालयका कृषि अर्थ विज्ञ निर्मल पौडेलका अनुसार आकासे पानी पर्याप्त नपर्दा पश्चिम चितवनका अधिकांश रोपाइँ बोरिङको भरमा छ । आकासे पानीको भरमा रोपाइँ हुने खेतीयोग्य जमिनमा अझै रोपाइँ हुन सकेको छैन ।

‘जहाँ सिँचाई अथवा बोरिङको सुविधा छ त्यहाँ रोपाइँ भएको छ, आकासे पानीको भरमा रोपाइँ हुने क्षेत्र अझै केही बाँकी छ’, उहाँले भन्नुभयो ‘पर्याप्त पानी परेको छैन, किसानहरुले बोरिङबाट धानखेत भिजाइरहेका छन्, सिँचाइबाट गरा–गरामा पानी भरेका छन् ।’

भरतपुर महानगरका अधिकांश धानखेती हुने जमिनमा किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाई गरी रोपाइँ हुने गर्छ  । छिटपुट परेको पानीले पश्चिम चितवनका घोलखेत पनि भिजेको छैन, जसका कारण किसानले बोरिङबाट रोपाइँ गरेका हुन्, यसपटक चितवनका अधिकांश भूभाग बोरिङबाट रोपाइँ गर्नुपर्दा किसानको लागत पनि बढेको छ ।

‘बोरिङले पालैपालो भूमिगत पानी तानेर खेत सिँचाई गर्ने कार्य गरिरहेका छौँ’, भरतपुर–२५ का किसान सूर्यप्रसाद ओझाले भन्नुभयो,‘बोरिङ सुविधा नभएको भए यसपटक असारसम्म धानखेत बाँझै हुने थिए, अझै पानी पर्न सकेको छैन, कुलो, नहरमा पानी नै छैन ।’

सुक्खाका कारण बोरिङमै पानी कम आइरहेको उहाँले बताउनु भयो  । ‘दिनभरि सोलारबाट बोरिङको इन्जिन चलाए पनि मुस्किलले एक–दुई गरामात्रै भिजाउन सकिएको छ, बोरिङले समेत पानी कम फालेको छ, पानी पर्न सकेकै छैन’, अर्का किसान दीपक खनालले भन्नुभयो  । चितवनमा यसपटक २७ हजार हेक्टरमा धान रोप्ने लक्ष्य राखिएको छ । 

चितवन जिल्लाको पूर्वी चितवन क्षेत्रमा झन्डै ८७ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय चितवनले जनाएको छ । तर, पश्चिम चितवनका टाँडी क्षेत्रहरूमा रोपाइँ ८० प्रतिशत मात्र भएको छ । कालिका नगरपालिकामा धान रोपाइँ हुने क्षेत्र केही बढेको छ भने इच्छाकामना र राप्तीका पहाडी वडाहरूमा धान रोपाइँ हुन सक्दैन ।

खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाका क्षेत्रहरूमा धान रोपाइँ लगभग अन्तिम चरणमा पुगेको छ । चितवनको धान जोन क्षेत्र पनि यी दुई नगरपालिकामा पर्छ ।

चितवन जिल्लामा बोरिङ, कुलो र नहरको सिँचाइलाई जोड्ने हो भने धानखेतीयोग्य जमिनको ८० भूभागमा सिँचाई सुविधा रहेको छ । २० प्रतिशत जमिनमा आकासे पानीको भरमा रोपाइँ गर्नुपर्ने अवस्था चितवनमा अझै छ पूर्वी चितवनका अधिकांश जमिनमा सिंचाइको सुविधा छ । 

कृषि विकास कार्यालय चितवनका अनुसार जिल्लामा विगतका वर्षहरुमा वर्षे धान एक लाख १२ हजार बढी मेट्रिक टन उत्पादन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button