मधेश प्रदेशका मुख्यमन्त्री यादवले भोली विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सर्वोच्च अदालतको निर्णय अनुसार भोली दिउँसो २ बजे मधेश प्रदेश सभामा विश्वासको मत लिनका लागि व्यवस्था मिलाई दिनका लागि पत्र पठाउनु भएको छ ।
मुख्यमन्त्री यादवले मुख्यमन्त्रीको निवासमा आज साँझ आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा विश्वासको मत सम्बन्धि पत्र प्रदेश सभा सचिवालयमा आजै साझ दर्ता गराएको जानकारी दिनु भएको हो ।
सम्मानित सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आदेशको मेलमा नपठाए पनि आफूले नै चासो लिएर मधेश प्रदेश सभा सचिवालय तथा प्रदेश प्रमुखको कार्यालयबाट प्रतिलिपि झिकाएर सोही आधारमा विश्वासका मतका लागि प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएको मुख्यमन्त्रीले जानकारी दिनु भयो ।
उहाँले मधेश प्रदेश सभामा विगतमा आफूहरूले सहकार्य गरेका सहयात्री दलबाट नै आफूलाई विश्वासको मत प्राप्त हुने आशा व्यक्त गर्नु भयो । आफू विश्वासको मत पाउनेमा ढुक्क रहेको दाबी गर्दै भोली बिहानसम्ममा सबै अवस्था सार्वजनिक हुने बताउनु भयो ।
मन्त्रिपरिषदमा सहभागी रहनु भएका दलका तीन मन्त्री सहित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले सर्वोच्च अदालतको आदेशपछि सरकारको आज बसेको मन्त्रीपरिषद्ले गरेको विभिन्न निर्णयहरूका गरेको जानकारी दिनु भएको हो ।
मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मधेशमा स्थायी बसोबास गर्ने स्नातक तह उत्तीर्ण भएर बेरोजगार बसेका युवाहरूलाई मासिक रुपमा २ हजार बेरोजगारी भत्ता तथा बाढीका कारणले क्षति भएको किसानलाई प्रति कठा १ हजार ५ सयको दरले स्थानीय तह मार्फत राहत रकम उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो ।
यसै गरि मन्त्रीपरिषद् बैठकले प्रदेशमा स्थायी बसोबास भएका दलित तथा मुस्लिम युवाहरूको उच्च शिक्षामा पहुँच बढाउनका लागि स्नातकोत्तर बढ्नका लागि १ लाख एकमुष्ट रुपमा छात्रवृत्ति दिने, माघ महिनाको पूर्णिमाका दिन पर्ने रविदास जयन्तीका दिन प्रदेश भरि लागु हुने गरि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकले धानको समर्थन मूल्य कम भएकाले उक्त बढाउनका लागि संघ सरकारलाई बढाउनुपर्ने रकम सहित सिफारिस गर्ने र मदर्शा शिक्षा बोर्ड गठन सम्बन्धि विधेयक प्रदेशमा टेबुल गर्ने निर्णय भएको जानकारी मुख्यमन्त्री यादवले पत्रकार सम्मेलनमा गराउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्