मधेशमा ४ सय ७४ नयाँ एचआइभी एड्स संक्रमित फेला

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा ४ सय ७४ जना नयाँ एचआइभी एड्सबाट संक्रमित भएका रोगीहरू फेला परेका छन् ।
३८ औँ विश्व एड्स दिवसको अवसरमा प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सो विषयमा जानकारी दिइएको हो ।
नयाँ संक्रमित हुने मध्ये १६ जना गर्भवती महिला रहेको स्वास्थ्य निर्देशनालयका एचआइभीका सम्पर्क व्यक्ति राजवीर यादवले जानकारी दिनु भयो । नयाँ सङ्क्रमितहरूमा अधिकांश वैदेशिक रोजगारीबाट फर्केर आएका पुरुषहरू रहनुका साथै महिला, तेस्रो लिङ्गी तथा यौनकर्मीहरू रहेका उहाँले जानकारी दिनु भयो ।
संक्रमित भएकाहरूलाई दातृ निकायको सहयोगमा नेपाल सरकारले विभिन्न एचआइभी एड्स विरुद्धको औषधि मधेश प्रदेशका ११ वटा एआरटी सेन्टरहरूमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाउने काम भइरहेको छ । मधेश प्रदेशको सप्तरीमा १ सय ८१, बारामा २ सय ३८, महोत्तरीमा ३ सय ६४, रौतहटमा ३ सय ९०, सिरहामा ४ सय २६, सर्लाहीमा ५ सय २०, धनुषामा ८ सय २२ र सबैभन्दा बढी पर्सा जिल्लामा १ हजार ८ सय ९६ जना गरेर कूल सङ्क्रमितको सङ्ख्या ४ हजार ३ सय ३२ जना एड्सका रोगीहरू रहेका छन् ।
सबै सङ्क्रमितहरूलाई रोगबाट लड्नका लागि क्षमता बढाउने औषधि खुवाउने काम भइरहेको मधेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशगत रुपमा सबै भन्दा बढी बागमती प्रदेशमा संक्रमितहरु रहेका छन् । बागमती प्रदेशमा ७ हजार १ सय ४ जना तथा सबैभन्दा कम कर्णाली प्रदेशमा ७ सय ३१ जना संक्रमितहरु रहेका छन् ।
यसै बीच एच आई भि एड्सका विषयमा जनचेतना फैलाउनका लागि धनुषा जिल्लाका सामुदायिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा विजयी भएका विद्यालय तथा विद्यार्थीहरूलाई शिल्ड, पदक तथा प्रमाणपत्र सहित आज सम्मानित गरिएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय वैलहीका छात्र रोहित कुमार र रोहित साह प्रथम, माध्यमिक विद्यालय बसविट्टीका शुभम कुमार मण्डल र अभा मण्डल द्वितीय तथा सरस्वती माध्यमिक विद्यालय कटरैतका श्याम सुन्दर दास र छात्रा आकृति यादव तृतीय हुनु भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा अङ्कुर साहले एचआइभी एड्स प्रति जनचेतना फैलाउन जरुरी रहेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्