नरैनापुरमा सरकारी लगानीसँगै पूर्वाधार विकास तीव्र
बाँके।लामो समयदेखि बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको नरैनापुर गाउँपालिका पछिल्लो समय तीव्र गतिमा सुगमताको यात्रामा अघि बढिरहेको छ। संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा शिक्षा, स्वास्थ्य, सडक र सामाजिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ऐतिहासिक परिवर्तनको अभियान सुरु गरिएको छ।
गाउँपालिकाले संघीय सरकारको शर्तअनुदानबाट ५५ लाख रुपैयाँमा विद्यालयको भौतिक पूर्वाधार निर्माण सुरु गरेको छ। आदर्श माध्यमिक विद्यालयमा शौचालयसहित अन्य पूरक शैक्षिक पूर्वाधार निर्माणका लागि नेपाल सरकारको विशेष अनुदान र आन्तरिक स्रोतबाट ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ। सहायक प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख भरत महतोका अनुसार सार्वजनिक सूचना प्रकाशन गरी उपभोक्ता समिति मार्फत निर्माण कार्य अघि बढाइएको छ।
निर्माणाधीन १५ शय्या अस्पतालको मोबिलाइजेसनका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ। वडा नं. ६ मा ल्याब सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपैयाँमा दुई कोठे भवन निर्माण थालिएको छ। साथै प्रदेश सरकारबाट मदरसा अलिकादरिया नसरुल उलुमका लागि ७ लाख, मदरसा फतिजतुल उबरा लागि २० लाख र शंकरनगर–कोटियामा शौचालय निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको महतोले जानकारी दिनुभयो।
२०७१ सालको बाढीपीडितलाई लक्षित सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत संघीय सरकारको शर्तअनुदान ९९ लाख ९९ हजार रुपैयाँमा आवास निर्माण सुरु हुने प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताउनुभयो। उहाँका अनुसार सम्झौताका आधारमा भुक्तानी र प्राविधिक जिम्मेवारी तोकिएको छ।
संघीय सरकारको बजेटबाट गंगापुर स्वास्थ्य चौकी जाने सडक ८६ लाख रुपैयाँमा निर्माण गरिने भएको छ। गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नरैनापुरलाई दुर्गमको छविबाट मुक्त गरी सुगम, समृद्ध र मोडेल गाउँपालिकाका रूपमा विकास गर्न आफू निरन्तर मेहनत गरिरहेको बताउनुभयो। उहाँले सबै योजना समयमै सम्पन्न गर्न उपभोक्ता समिति र ठेकेदारलाई स्पष्ट निर्देशन दिनुभएको छ।
स्थानीयवासी मोहम्मद मुबारक अलीले संघीय सरकारको गुरुयोजना लागू हुनु नरैनापुरका लागि खुशीको विषय भएको भन्दै शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारले क्षेत्रको मुहार बदलिने विश्वास व्यक्त गर्नुभयो।
एक दशक अघिसम्म पछाडि परेको नरैनापुर अहिले एकपछि अर्को पूर्वाधार निर्माणसँगै तीव्र रूपमा परिवर्तन हुँदैछ। शिक्षा, स्वास्थ्य, आवास, सडक र सामाजिक संरचनामा भइरहेको प्रगतिले नरैनापुरलाई सुगम र समृद्ध भविष्यतर्फ अघि बढाइरहेको छ।








प्रतिक्रिया राख्नुहोस्