तपाईँ सुन्दै हुनुहुन्छः

कार्यस्थलमा समेत महिला असुरक्षित

नेपालगञ्ज । कार्यस्थलमा महिलामाथि विभिन्न किसिमका हिंसाहरू हुने गरेको एक कार्यक्रममा बताइएको छ । कार्यालयमा पुरुषहरूले अपशब्दको प्रयोग, अवाञ्छित, अश्लिल, अपमानजनक, यौनिक टिप्पणी, हेराई, मजाक गर्ने जस्ता क्रियाकलापले महिलाहरू असुरक्षित भएको कुरा औँल्याइएको छ ।

महिला, कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग गरेको छलफल कार्यक्रमका सहभागीहरूले सचेत महिलाले मात्र अवसर पाउने गरेको बताएका थिए । उनीहरूले नगर कार्यपालिकामा सहभागी महिलाहरू बैठकमा निर्धक्कका साथ बोल्न नसकेको अवस्था रहेकोले महिलाहरूलाई अवसर र सचेतनाको आवश्यकता रहेको बताएका थिए । उनीहरूले स्थानीय तहमा महिला जनप्रतिनिधिहरू नाम र कोटाका लागि मात्र सहभागिता गराउने गरिएकोले महिलालाई सक्षम र सबल बनाउनुपर्नेमा जोड दिएका थिए ।

आर्थिक अवस्था कमजोर हुनुले महिलाहरू बढी हिंसामा पर्ने भएकाले उनीहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइएको थियो । सहभागी हले उपमहानगरपालिका कार्यालयमा लैङ्गिक हिंसाका घटना सम्बोधन गर्न जेड्सी फोकल पर्सनमार्फत हेल्प डेस्कको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्त कुमार कनोजिया, संगिता रेग्मी, कौशलकुमार धोबी, वरिष्ठ महिला विकास अधिकृत पवित्रा पुरी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, संस्थाका अध्यक्ष विश्वजित तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, रवीन्द्रकुमार ज्ञवाली लगायतले महिलाका विभिन्न सवाल, समस्या र समाधानको उपायबारे आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा उक्त कार्यक्रम गरिएको हो ।

संस्थाले नेपालगञ्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने लैङ्गिक तथा यौनजन्य दुर्व्यवहार निवारण आचारसंहिता निर्माण गर्न लागेको संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार यो नीति निर्माणका लागि विभिन्न लक्षित समूह तथा अन्य सरोकारवालासँग समेत छलफल गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button