तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा लामो समयदेखि पानी नपर्दा खानेपानी तथा सिँचाइमा समस्या, धान उत्पादनमा असर

जनकपुरधाम । विगत लामो समयदेखि पानी नपरेपछि मधेश प्रदेशका जिल्लाहरूमा खानेपानी तथा सिँचाइको अभाव भएपछि सर्वसाधारणहरू मारमा परेका छन् । 

मधेश प्रदेशका जिल्लाहरू खानेपानीको प्रमुख श्रोतको रुपमा रहेका चापाकल तथा सिँचाइका लागि खेतमा जडान भएको पम्पीसेटमा पर्याप्त मात्रामा पानी आउन नसकेपछि किसानहरु थप मारमा परेका हुन् । 

खेत जोतेर पानीका आसमा बसेका किसानहरु दिन दिनै निराश बनिरहेका छन् ।  जलवायुमा आएको परिवर्तनको असर नेपालको तराई मधेशका जिल्लाहरूमा स्पष्टरुपमा देखा परेको छ । मधेश प्रदेशका कतिपय राम्रा खोला तथा नदीहरू असार साउनमा पनि सुख्खा बनेका छन् । 

धनुषा र महोत्तरीको सीमाना भएर बग्ने औरही खोलामा साउनमा पनि स्थानीयले पानी हेर्न पाएका छैनन् । प्रायः वर्षाको समयमा केही वर्ष अगाडीसम्म औरही खोलामा धेरै पानी भएका कारणले पुलको पिलर भासिएर यातायात अवरुद्ध हुने गरेको तर अहिले खोलामा थोरै पनि पानी छैन ।   

साउनमा औरही खोलामा रहेका पुना पुललाई हटाएर नयाँ पुलको निर्माण काम भइरहेको छ । निर्माण कम्पनीलाई बाढी र पानीका कारणले काम गर्नमा कुनै समस्या भएको छैन । 

साउन महिनाको पहिलो सातामा औरही खोलामा पानी नआउनु चिन्ताको विषय भएको मिथिला नगरपालिका लालगढ निवासी शम्भु ढुङ्गाना बताउनुहुन्छ  । 

वर्षातको समयमा औरही खोला यसरी कहिल्यै सुख्खा रहेको थिएन । चुरेको फेदमा नै रहेको खोलामा समेत पानी नभएपछि त्यसको असर मधेश प्रदेशका दक्षिण भागमा बढी असर पुर्याएको स्थानीय सन्तलालले बताउनुभयो । 

अहिले मधेश प्रदेशका नेपाल–भारतको सिमानासँग जोडिएका कतिपय गाउँहरूमा रहेका चापाकलहरु सुक्न थालेका छन् । 

धनुषा जिल्लाको र नेपालकै सबैभन्दा होचो भनेर चिनिएका मुखियापट्टीमा भएका चापाकलहरु सुक्न थालेको स्थानीयवासी तथा मधेश प्रदेशसभाका सदस्य रामसरोज यादवले बताउनुभयो । “होचो गाउँमा पानीको अभाव छ भने अरू ती कस्तो होला सहजै अनुमान गर्न सकिन्छ”–यादवले भन्नुभयो ।

अरू केही दिनसम्म पानी नपरेको खण्डमा मधेश प्रदेशमा यस पटक खानेपानीको थप समस्या आउनुका साथै धानको उत्पादनमा नकारात्मक असर पर्ने र यसले समग्र देशको खाद्य सुरक्षामा समस्या उत्पन्न गराउनुका साथै धान र चामलमा थप परनिर्भरता बढ्ने देखिन्छ  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button