खप्तड बाबाको आश्रम अस्तव्यस्त, ऐतिहासिक सम्पदाहरू नष्ट हुने अवस्थामा
बझाङ। धार्मिक तथा पर्यटकीय हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिने खप्तड बाबाको आश्रम (कुटी) अहिले पूर्ण रूपमा उपेक्षाको अवस्थामा पुगेको छ।
नेपालको सुदूरपश्चिममा अवस्थित खप्तडको मध्य भागमा रहेको आश्रममा पानी चुहिने, भित्ता दलदल हुने, र भित्र रहेका ऐतिहासिक सामग्रीहरू कुहिने जस्ता समस्याले गम्भीर रूप लिएको छ।

आश्रमको छानोका पल्टा सिलेटहरू हावाले उडाएर वा कमजोर संरचनाका कारण क्षति पुगेको अनुमान गरिएको छ। आश्रमको पछाडि र दायाँपट्टि पानी चुहिँदा भित्ताहरू कुरूप देखिन थालेका छन् भने दलिनका काठहरू समेत कुहिने अवस्थामा छन्। आश्रमको माथिल्लो पाखामा झाडी र घाँसपातसमेत उम्रिएको देखिन्छ, जसले संरक्षणको बेवास्ता स्पष्ट देखाउँछ।
भित्रका कोठाहरूमा पानी चुहिँदा खप्तड बाबाले प्रयोग गरेका चकटी, लुगाफाटो, किताब, भाँडाकुँडा लगायतका सामग्रीहरू बिग्रन थालेका छन्। केही सामग्री सिसाको दराजमा राखिएको भए पनि अधिकांश सामानहरू खुला अवस्थामा रहेका कारण खिया लाग्ने र नष्ट हुने खतरामा छन्।
कोठाहरू साँगुरा र हावाहुरी नचल्ने भएकाले झ्याउ, ढुसी र दुर्गन्ध फैलिएर वातावरण दुर्गन्धित बनेको छ। माकुराको जाली, खिया लागेको भाँडा, कुहिएको काठ र भत्किँदो संरचनाले आश्रमलाई बेवारिसे र खण्डहरजस्तो बनाएको छ।

कुटी अगाडिको स्थान, जहाँ खप्तड बाबा ध्यानस्थ हुन्थे, त्यहाँ समेत गाई भैँसीको गोबर देखिन्छ। आश्रमसँगै जोडिएको राजा–रानी बस्ने पाहुना घर, भान्सा र ओछ्यान समेत सरसफाइ विना रहेको पाइएको छ।
सरकारी उपेक्षा ?
खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका सदस्य–सचिव तथा कार्यकारी निर्देशक खेम जोशीले केही वर्षअघि आश्रम मर्मत गरिएको भए पनि अहिले फेरि पानी चुहावट सुरु भएको र सुधारको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।

तर, आश्रमभित्र रहेका दुर्लभ ऐतिहासिक सामग्रीहरू संरक्षणविना अस्तव्यस्त रहनुले सरकारी इच्छाशक्ति र प्राथमिकतामा प्रश्न उठेको देखिन्छ। भारतबाट खप्तड भ्रमणमा आएकी चर्चित सोसल मिडिया यात्री बुक्कड यात्रीले पनि यस्तो ऐतिहासिक आश्रम बेवारिसे अवस्थामा हुनु सरकारको उदासीनताको उदाहरण भएको प्रतिक्रिया दिइन्।

संरचना सङ्ग्रहालयजस्तै बनाउनु पर्ने सुझाव
पर्यटक र स्थानीय बुद्धिजीवीहरूका अनुसार आश्रमलाई सङ्ग्रहालयको रूपमा विकास गर्दै व्यवस्थित र सुरक्षित संरक्षण गर्नुपर्ने आवश्यकता छ। आश्रमअगाडि खप्तड बाबाको जीवनी र दर्शन समेटिएको जानकारी बोर्ड राख्नु, हरेक कोठाको प्रयोजन उल्लेख गर्नु, आश्रमसम्मको बाटो सुधार गर्नु र सेनाको उपस्थितिमा भित्रका सामग्रीहरूको रेखदेख गर्नुपर्ने आवाज उठेको छ।

खप्तड बाबा: एक आध्यात्मिक व्यक्तित्व
विसं १९३७ मा भारतको जम्मु–कश्मीरमा जन्मिएका शिवजी डोग्रा (खप्तड बाबा) सन् १९८६ तिर नेपाल आएका थिए। २००३ सालदेखि करिब ५० वर्ष खप्तडमा बसेका बाबाले योग, आत्मज्ञान, धर्म र वेदान्तसम्बन्धी थुप्रै पुस्तकहरू नेपाली तथा अङ्ग्रेजी भाषामा लेख्नुभएकाे थियाे । २०५३ साल वैशाख २७ गते ११६ वर्षको उमेरमा बाबाको निधन भएको थियो।
खप्तडको महत्त्व
करिब २२५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको खप्तडमा २२ पाटन, ५२ झुतीजङ्गली टापु, ३६ ताल कुवा छन्। खप्तडमा गेस्टहाउस, होटेल र धर्मशाला निर्माण गरिएको भए पनि त्रिवेणी धाम, सहस्र लिङ्ग, खापरदह, नागढुंगा, र्याइघण्ट जस्ता महत्त्वपूर्ण स्थलहरूमा जाने बाटो अझै सुधार हुन बाँकी छ।





प्रतिक्रिया राख्नुहोस्