प्रतिनिधिसभा बैठक: समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार न्युनिकरण लगायतका विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक राजनीतिक विषय, बढ्दो भ्रष्टाचार न्युनिकरण, देशका विभिन्न भागमा बाढी पहिरोले पुर्याएको क्षति उद्धार, राहत र घाइतेको उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले देशमा श्रम पलायन तीव्र रहेको, युवा शक्ति देशबाहिर जान बाध्य भइरहेको, धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीन रहेका कारण जनतामा नैराश्यता बढिरहेको बताउनुभयो ।
उहाँले सरकारभित्र होस् वा बाहिर नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेण्डा र सहकार्यको स्पष्ट अभाव देखिन थालेको पनि बताउनुभयो ।
नेकपा एमालेका सांसद पद्म गिरीले अहिलेको सरकारले कहालीलाग्दो अवस्थामा पुगेको अर्थतन्त्रको सुधारका लागि महत्वपूर्ण रुपमा काम गरेको बताउनुभयो ।
सांसद गिरीले देशका विभिन्न भागमा विकासका कामले सकारात्मक गति लिन लागेको भएपनि राज्यका संयन्त्रहरूबाट प्रभावकारी काम गर्ने कुरामा कमी रहेकाले त्यसलाई सच्याएर जनअपेक्षाअनुसार काम हुने वातावरण बनाउन सरकारले तत्काल पहल लिनुपर्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकार विवादै विवाद, शङ्कै शङ्का र प्रश्नै प्रश्नको घेरामा एक वर्ष बिताएको बताउनुभयो ।
सांसद दाहालले ल्हेन्दे खोलाबाट आएको बाढीपछि खोज, उद्धार र राहतप्रति सरकारको उदासीनता देखाएको आरोप लगाउँदै चीनमा हिमताल फुटेर आएको बाढीले रसुवागढी नाकाको पुल बगाएका कारण चीनसँग कूटनैतिक र औपचारिक रुपमा पहल गरी राहत उद्धार, पुनर्स्थापना र पुनर्निर्माणको प्याकेज बनाउन तथा तत्काल सिमापुल पुन निर्माणको काम अगाडी बढाउन माग गर्नुभयो ।
नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले सुशासन, संविधान संशोधन र स्थायित्वको नारा लगाउँदै बनेको सरकारले एकवर्ष पुरा गर्दा बढ्दो भ्रष्टाचार, असंवैधानिक नियुक्ति र दोषीलाई उन्मुक्तिजस्ता घटनाले जनताको मन टुटेको बताउनुभयो ।
बैठकमा सांसदहरुले किसानका समस्या समाधान, बाढी पहिरो र दुर्घटनामा परि मृत्यु भएकाहरूलाई आवश्यक राहतको व्यवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले किसानका समस्या समाधान तथा जनताको चाहना, आवश्यकता र चाहनाअनुसारका योजना र कार्यक्रम सरकार र यसका संयन्त्रहरूमार्फत बन्न नसकेको बताउनुभयो ।
सांसदहरुले सुदूरपश्चिम र कर्णालीमा छाउगोठ अझै रहेका कारण धेरै महिलाहरूले छाउगोठमा मृत्युवरण गर्नुपरिरहेको भन्दै यस्ता सामाजिक कुरीति र कुप्रथा अन्त्यका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले प्रतिनिधि सभा नियमावली अनुसार महिला समन्वय समिति बन्न नसकेको भन्दै नियमावली अनुसार समिति बनाउन सभामुख र सदनको ध्यानाकर्षण गराउनुभयो ।
यसैबीच, भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजपनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
बैठकमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलेले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन गर्न समिति नबस्दासम्म विरोध गरिरहने बताउनुभयो ।
सांसद नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने भन्दै घूस काण्डका विषयमा मन्त्री गुप्तालाई पक्राउ गरी छानबिन गर्नुपर्ने बताउनुभयो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले खुलमखुला पैसाको विषयमा अडियो बाहिरिएको विषयमा मन्त्री गुप्ताको राजीनामाले मात्रै नहुने भन्दै पक्राउ गरेर छानविन शुरु गर्न माग गर्नुभयो ।
नेकपा एमालेका सचेतक सुनिता बरालले नियमापत्ति गर्दै संसदमा जे पनि बोल्न पाउने र आरोप लगाउने प्रवृत्ति बढेको भन्दै सरकार र प्रधानमन्त्रीको नाम नै उच्चारण गरेर राप्रपाका प्रमुख सचेतक शाहीले राखेको टिप्पणी रेकर्डबाट हटाउन माग गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्