खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा हस्ताक्षर

सुदूरपश्चिम (कैलाली)। खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयबीच “खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना” अन्तर्गत लागत सहभागिता समझदारीपत्रमा आज कैलालीको धनगढीमा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त आयोजना कर्णाली प्रदेशका दुई स्थानीय तह वीरेन्द्रनगर नगरपालिका र शारदा नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका चार स्थानीय तह दिपायल सिलगढी नगरपालिका, जानकी गाउँपालिका, बर्दगोरिया गाउँपालिका र जोशीपुर गाउँपालिकामा कार्यान्वयन हुने खानेपानी मन्त्रालयका सहसचिव ईञ्जिनियर कमलराज श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार खानेपानी मन्त्री प्रदीप यादव तथा सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको सहभागिता उक्त समझदारीपत्रमा आज धनगढीमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्बन्धित स्थानीय तहहरूमा लागत सहभागिता सुनिश्चित गर्न, कार्यान्वयनको प्रभावकारी अनुगमन तथा प्रतिवेदन व्यवस्थापन गर्न संघीय खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारबीच सहकार्यका लागि यो समझदारी गरिएको सुदूरपश्चिम प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
यसै क्रममा खानेपानी मन्त्री प्रदीप यादवले यस ऐतिहासिक सहकार्यले खानेपानी क्षेत्रमा सुशासन प्रवद्र्धन गर्दै पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा थप पारदर्शिता र प्रभावकारिता ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यस सफल सहकार्यका लागि सम्बन्धित सबै तह, निकाय र साझेदारहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।”
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) र नेपाल सरकारबीच वित्तीय सम्झौता भएको छ । आयोजनाको अवधि जुलाई १५, २०२८ सम्म रहेको छ ।
आज सम्पन्न सहभागिता समझदारी पत्रमा संघीय खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सामूहिक रूपमा “पक्षहरू” र एकल रूपमा “पक्ष” को रूपमा बुझिने जनाइएको छ ।
उक्त समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री निर्मलादेबी साउद, दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिंह खड्का, बर्दगोरिया गाँउपालिका अध्यक्ष कर्णबहादुर कुँवर, जोशीपुर गाँउपालिका अध्यक्ष, चित्रबहादुर चौधरी, जानकी गाँउपालिका अध्यक्ष गणेश चौधरी, संघीय खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्ट लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्