लम्कीचुहामा खानेपानी आयोजना सुरु, ७४ हजारभन्दा बढी लाभान्वित हुने

लम्कीचुहाँ (कैलाली) । खानेपानी मन्त्री प्रदीप यादवले सरकारले नागरिकसँग काँध मिलाएर विकासको यात्रा अघि बढाउने बताउनुभएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ मा लम्की सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास गर्दै मन्त्री यादवले समावेशी विकासका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्ने प्रयास जारी रहेको उल्लेख गर्नुभयो ।

उहाँले लम्कीचुहामा खानेपानीको समस्या रहेकाले स्वच्छ र सुरक्षित पानीको पहुँच पुर्याउने लक्ष्यसहित आयोजना सुरु गरिएको जानकारी दिनुभयो ।
खानेपानी विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठका अनुसार आयोजनाबाट वडा नं. १ देखि ५ सम्मका कम्तीमा ७४ हजार ५०० नागरिक लाभान्वित हुनेछन् ।

आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, उपभोक्ता समितिको २५ प्रतिशत र नगरपालिकाको ५ प्रतिशत लगानी रहेको छ ।
प्याकेज–२ अन्तर्गतको निर्माण सुप्रिम जयमाता जेभीले रु २९ करोड ४८ लाखमा सम्पन्न गर्नेछ । निर्माण कार्य २०८५ असार २५ भित्र सम्पन्न गर्ने लक्ष्य छ ।
कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव कमलराज श्रेष्ठ, नगरप्रमुख शुसिला शाहीलगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्