तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालकर्मी पाण्डे ‘जसोदा स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत

इलाम । रेडियो नेपाल इलाम सम्वाददाता सविता पाण्डे ‘जसोदा स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुनुभएको छ । 

इलाम नगरपालिका साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा इलाममा आइतबार आयोजित आदिकवि भानुभक्तको ११२ औँ जन्म जयन्तीको अवरमा आयोजित  बहुआयामिक व्यक्ति पदम बहादुर देवानको स्मृति ग्रन्थ  लोकार्पण तथा ‘जसोदा स्मृति पत्रकारिता पुरस्कार’ वितरण समारोहमा पाण्डेलाई दोसल्ला ,सम्मानपत्र र नगद  १२ हजार ५ सय  सहित  पुरस्कृत गरिएको छ । पुरस्कार ‘जसुदा स्मृति प्रतिष्ठान’ले स्थापना गरेको हो ।  

इलाम नगरपालिका साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा पुरस्कार  प्रदान गरिएको थियो । 

कार्यक्रममा साहित्य र पत्रकारिता सक्रिय इलामकी चेली जसुदा खाँकीको योगदान बारे ‘जसुदा स्मृति प्रतिष्ठान’ का संयोजक, पूर्व पत्रकार तथा कवि विमल वैद्यले चर्चा गर्नुभएको थियो । इलाममा जन्मनुभएकी खाँकीले इलाम रहँदा साहित्यमा सक्रिय रहँदै आउनुभएको थियो । वरिष्ठ पत्रकार पुष्पराज प्रधानसँग वैवाहिक बन्धनमा बाँधिएपछि खाकीे काठमाडौँमा रहँदा साहित्य सँगै पत्रकारितामा निकै सक्रिय रहनु भएको थियो । २०३६ सालबाट युवा आवाजको सम्पादन ,संरचना साप्ताहिक, अङ्ग्रेजी पत्रिका पिपुलस रिभ्यु आबद्ध भई पत्रकारितामा सक्रिय खाकी नेपाल पत्रकार महासङ्घको केन्द्रिय सदस्य पनि हुनुभएको थियो । समाज रुपान्तरणको लागि केही न केही गरौँ भन्ने भावना भएको खाकीको अल्पायुमै निधन भएको थियो । खार्कीको श्रीमान् पुष्पराज प्रधान र परिवारको सक्रियतामा स्मृति पुरस्कार स्थापना गरिएको हो । साहित्यमा सम्भावना भएका र योगदान पुर्‍याउँदै आएका  स्रष्टा र तथा सक्रिय र अग्रज  पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको । 

यसै पुरस्कारबाट कवि अन्वेश थुलुङ, कवि बालिका थपलिया, पत्रकार सोम सुसेली, पत्रकार चन्द्र भण्डारी, साहित्यकारहरू  विजय वान्त्वा कैलासी , देवेन्द्र सक्तेन , सुन्दर कुरुप पुरस्कृत भइसकेका छन् । 

कार्यक्रममा इलाम नगरपालिकाका पहिलो मेयर पदम बहादुर देवानको बारेमा लेखिएको ‘बहुआयामिक व्यक्तित्व पदम बहादुर देवान’ स्मृति ग्रन्थको बिमोचन गरिएको छ । 

कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको बारेमा डा.देवी क्षेत्री दुलालले र पदम बहादुर देवानको योगदान बारे महेन्द्र रत्न क्याम्पस इलामका पूर्व क्याम्पस  प्रमुख युद्ध प्रसाद वैद्यले चर्चा गर्नुभएको छ । साहित्य कला सङ्गीत प्रतिष्ठानकाद्वारा स्थापित पुरस्कारद्वारा साहित्यकार शिव अधिकारी (इलामे जेठो) पुरस्कृत हुनुभएको छ । 

कार्यक्रममा खगेन्द्र देवान, रामचन्द्र पराजुली, सविता पाण्डे, हिमालय कर्माचार्य, इलाम नगरपालिकाकी उपप्रमुख विष्णु दहाललगायतले पदम बहादुर देवान र जसुदा खाकीको योगदान र जीवनीबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button