सिन्धुपाल्चोक पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
जिल्लामा रहेका १६ महिनादेखि ५९ महिना सम्मका २ हजार २ सय पचास बालबालिकाहरूले पूर्ण खोप पाएको सुनिश्चित भइसकेपछि जिल्लालाई शुक्रबार पूर्ण खोप तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला सदरमुकाम चौतारामा आयोजित एक कार्यक्रमबीच बागमती प्रदेश, स्वास्थ्य मन्त्री किरण थापामगरले सिन्धुपाल्चोक जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सबै १२ वटा स्थानीय तहका १०३ वटै वडामा घरधुरी सर्वेक्षण गरी १६ महिनादेखि ५ वर्ष मुनिका २ हजार २ सय पचास जना बालबालिकाले पाउनुपर्ने सबै पूर्ण खोप पाएको सुनिश्चित भएसँगै सिन्धुपाल्चोक जिल्ला ९ औँ पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासहितको जिल्ला बनेको छ ।
घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री थापाले खोपको व्यवस्थापनकै कारण नेपालमा शिशु मृत्युदर न्यूनीकरण भएको बताउनुभयो । सिन्धुपाल्चोकका सबै बालबालिकाहरूले खोप पाएको सुनिश्चिततासँगै खोप सुनिश्चित जिल्ला घोषणा भएकोमा जिल्लावासीलाई बधाई दिँदै उहाँले दिगोपनाका लागि मन्त्रालय सदैव तत्पर रहेको प्रतिबद्धता पनि जाहेर गर्नुभयो । उहाँले अस्पताल र स्वास्थ्य चौकी बन्दैमा स्वास्थ्य सेवा प्रवाह भएको र स्वस्थ नागरिक भएको मान्न नसकिने भन्दे समुदायमा नै स्वास्थ्य सेवा प्रभाकारीरुपमा प्रवाह गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई थप क्षमता अभिवृद्धि गर्दै सबलीकरण गर्न स्वास्थ्य मन्त्रालयको योजना रहेको उल्लेख गर्नुभयो । स्थानीय तहको सिफारिसको आधारमा अबदेखि विपन्न र गरिबहरूले निजी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गरिएको पनि मन्त्री थापाले उल्लेख गर्नुभयो ।
१२ वटै पालिकाका प्रमुख एवम् उपप्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको सो सभामा बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् प्रदेश सांसद युवराज दुलाल शरद, सरल सहयात्री, चौतारा सााँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, त्रिपुरा सुन्दरी गाउँपालिका उपाध्यक्ष गीता नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा ,डब्लु एच ओका कन्ट्री निर्देशक डा. राजेश पाण्डव लगायतका बक्ताले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणाका लागि सहयोग गरेका विभिन्न सरकारी, गैरसरकारी कार्यालय प्रतिनिधि, स्वास्थ्यकर्मी, पालिका प्रमुख र महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्