तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकाद्धारा अन्तरजातीय विवाह गर्ने १५ जोडी सम्मानित 

चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १५ जोडीलाई नगदसहित सम्मान गरेको छ । जातीय विभेद अन्त्यका लागि प्रोत्साहन गर्न महानगरले एक–एक लाख रुपैयाँले सम्मान गरेको हो ।

अन्तरजातीय जोडीलाई सम्मान गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले जातीय विभेदलाई न्यूनीकरण गर्दै लैजान महानगरले विगत ५ वर्षदेखि अन्तरजातीय जोडीलाई सम्मान गर्दै आएको बताउनु भयो  ।

हरेक वर्ष सम्मानित हुने अन्तरजातीय जोडीको सङ्ख्या बढ्दै गएको भन्दै उहाँले जातीय विभेदको केही अंश कम हुँदै गएको बताउनु भयो । उहाँले सामूहिक प्रयासबाटै विभेद हटाउनुपर्ने बताउनु भयो । संविधानले जातीय विभेदलाई अपराधको रुपमा व्याख्या गरेको भन्दै उहाँले २०६२/६३ सालपछि जातीय विभेद क्रमशः घट्दै गएको उहाँको भनाई छ  ।

नगर उपप्रमुख चित्रसेन अधिकारीले चुनौतीका बाबजुद सामाजिक रुपान्तरणको लागि अन्तरजातीय विवाहले ठुलो भूमिका खेलेको बताउनु भयो  । अहिले पनि अन्तरजातीय विवाह गर्नुहुन्न भन्ने सोँच पूर्ण रुपमा नहटेको बताउँदै उहाँले यसलाई क्रमशः चिर्दै जानुपर्ने बताउनु भयो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले २०२१ सालमा पहिलो पटक दलित समुदायलाई भेदभाव गर्ने विषय दण्डनीय भनेर कानुन निर्माण भएपनि छ दशकसम्म पनि पूर्ण रुपमा नहटेको बताउनु भयो  । उनले सामाजिक क्रान्तिमा भाग लिने जोडीलाई अप्ठ्यारो परिस्थितिमा पनि एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो  ।

सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१६ का करण योगी र दिया रामदाम, भरतपुर–२० का अनुप सुनार र सुस्मिता श्रीष, अनिल हरिजन र लक्ष्मी लामिछाने, अशोक परियार र सुमिता रानामगर, भरतपुर–११ का मनोज विश्वकर्मा र जसिका श्रेष्ठ, भरतपुर–६ का सुमन परियार र सिमा लामा परियार, रुपेश भुजेल र अस्मिता विक, भरतपुर–२७ का अशोक परियार र आरती महतो, भरतपुर–२४ का किसान परियार र इन्दिरा तामाङ, भरतपुर–१६ का सरोज सुनार र सोममाया घले सुनार, भरतपुर–१० का विष्णु पौडेल र रोशनी परियार, भरतपुर–२३ का दिपेश सदाशंकर र अन्सु श्रेष्ठ, भरतपुर–१९ का किरण विक र सुनन्दा श्रेष्ठ, भरतपुर–२८ का अविशेक दर्जी र राधा शर्मा र भरतपुर–१२ का मनिष थापा र कुसुम विश्वकर्मा रहेका छन् ।

महानगरले यसअघि आव २०७७/७८ मा तीन जोडी, आव २०७८/७९ मा तीन जोडी, आव २०७९/८० मा सात जोडी र आव २०८०/८१ मा १० जोडीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button